Thaha

Friday 03 May - 7:19 pm NST

​सत्य निरुपण तथा मेलमिलाप आयोगले दशैपछि उजुरी आव्हान गर्ने

इश्वरी अधिकारी,
काठमाण्डौ ८ साउन । सत्य निरुपण तथा मेलमिलाप आयोगले दशैपछि पीडित समक्ष उजुरी दिन आव्हान गर्ने भएको छ । सरकारले गत माघ २७ गते शसस्त्र द्वन्द्वकालमा भएका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो ।

गठन भएलगतै काम शुरु गरेको आयोगले अहिले आन्तरिक कामलाई लगभग अन्तिम चरणमा पुर्याएकोे छ । आयोगले अहिले सञ्चार नीति जारी गरिसकेको छ । सञ्चार नीति जारी भैसकेपछि अब आयोगले गर्ने काम कारबाहिको सम्बन्धमा जनतालाई जानकारी गराउन व्यापक प्रचार प्रसार गर्ने तयारी गरिरहेको आयोगकी प्रवक्ता माधबी भट्टले रेडियो थाहासन्चारलाई जानकारी दिनुभयो ।

आयोगले यसअघि सार्बजनिक सुनुवाई कार्यक्रमको ढाँचा तयार पारेको छ भने, छुट्टै सन्चार शाखा पनि गठन गरिसकेको छ । आयोगलाई पिडीत मैत्री बनाउने अभियानमा आफुहरु लागेकोले उजुरी आव्हान गर्नुअघि व्यापक रुपमा प्रचार प्रसार गरिने प्रवक्ता भट्टले बताउनुभयो ।

‘आयोगले कसरी काम गर्छ, कसरी पिडीतलाई न्याय प्रदान गर्छ भन्ने कुरा जनतालाई उजुरी आव्हान अघि नै जानकारी गराउनु आवश्यक छ’ भट्टले भन्नुभयो ‘त्यसैले अब आयोगले प्रचार प्रसारलाई निरन्तरता दिने छ’ । आयोगको कार्यअवधि २ वर्ष तोकिएको छ भने काम सम्पन्न नभएमा एक वर्ष थप गर्न मिल्ने व्यवस्था समेत छ ।