Thaha

Thursday 02 May - 11:12 am NST

संविधान सुझावका क्रममा ठाउँठाउँमा झडप

काठमाडौं, साउन ४ । संविधानको पहिलो मस्यौदामा जनताको सुझाब लिने क्रममा आज देशका विभिन्न ठाउँमा झडप भएका छन् ।

देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा जनताबाट सुझाव लिनका लागि अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । धेरै ठाँउमा सुझाव सहज ढंगले अगाडी बढेपनि ठाँउ ठाँउमा झडप र अवरोध भएका हुन् । मधेशवादी दल, राप्रपा नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ठाँउ ठाँउमा सुझाव संकलन अवरोध गरेका छन् । संविधानको मस्यौदामाथि सुझाव संकलनस्थलमा रौतहटको गौरमा झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र २२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

आफूहरुलाई कार्यक्रम भईरहेको हलमा प्रवेश गर्न नदिएको भन्दै तमलोपा, संघीय समाजवादी फोरम, सद्भावनाका नेता कार्यकर्ताले ढुंगामुढा गरेपछि बिहानैदेखि स्थिति गौर तनावग्रस्त बनेको छ । आक्रोसित स्थानीयले एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल चढेको बा १३ च १४९१ नम्वरको गाँडी पनि तोडफोड गरेका छन् । झडपमा परी पूर्वउद्योगमन्त्री अनिलकुमार झा, पूर्वसभासद बबनसिं सहित एकदर्जन बढी घाईते भएको पत्रकार अभिमन्यू झाले जानकारी दिनुभयो । धनुषामा सुझाव संकलनका क्रममा विभिन्न ठाँउमा झडप भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा राय संकलनका लागि जनकपुर उद्योग वाणिज्य संघको सभाहल हुन लागेको कार्यक्रम विभिन्न मधेशवादी दल तथा मधेश आन्दोलन संघर्ष समितिका नेता तथा कार्यकर्ताहरुले विथोल्न खोजेपछि झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा नेकपा माओवादीका नेता रोशन जनकपुरी, संघीय समाजवादी फोरम नेपालका धनुषा जिल्ला अध्यक्ष शेषनारायण यादव,सदभावनाका जिल्ला अध्यक्ष संजय सिंह,पुष्पा ठाकुर, तेजनारायण यादव, बिन्दु यादवसहित १५ जना घाईते भएका हुन् ।

संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्वर २ पुगेका अर्थमन्त्री रामशरण महतमाथि आक्रमण प्रयास भएको छ । नुवाकोटको ढिकुरेमा महत चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको महतका प्रेस संयोजक गजेन्द्र बिष्टले जानकारी दिनुभयो ।

झापाको क्षेत्र नम्बर–३ मा सुझाव संकलनका लागि पुगेका नेपाली कांग्रेसका कृष्ण सिटौला सहभािग कार्यक्रममा झडप भएको छ । झापाको बनियानी गाबिसको स्वास्थ्य चौकीको भवनमा आयोजित कार्यक्रमस्थल यतिबेला तनावपूर्ण रहेको हाम्रा झापा संवाददाता लक्ष्मी काफ्लेले जनाएका छन् । 

हिन्दु राष्ट्रको माग गर्दै संविधान सुझाव संकलन केन्द्रमा पुगेका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच मकवानपुरमा झडप भएको छ । मकवानपुरको हटियामा भएको झडपमा झडपमा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा अध्यक्ष कमल थापाकी पत्नी प्रलिता थापा, राजाराम बर्तौला लगायत ११ जना घाईते भएका छन् । प्रस्तावित संविधानको मस्यौदाका बिषयमा सुझाब संकलन गर्ने क्रममा सुनसरीको धरानमा झडप भएको छ ।

सुझाब संकलनका लागि पुगेका सभाषद सहितको टोलीलाई अबरोध गरेपछि धरानको लाङ्घाली सामूदायिक वन उपभोत्ता समितिको सभाहलमा झडप भएको हो । संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्वूवान पार्टी नेपाल र राप्रपपा नेपालका कार्यकर्ताहरुले मस्यौदाको बिरोध गर्दै सुझाब संकलनमा अबरोध गरेपछि झडप भएको हो ।