Thaha

Friday 03 May - 6:13 am NST

​सभासदहरु सुझाब लिन १ गते गाँउ जादै, ७ गते प्रतिवेदन बुझाउने

बोमलाल गिरी
काठमाडौ,२४ असार ।
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाब लिन सभासद्हरु एक गते सम्बन्धित निर्वाचन क्षेत्रमा जाने भएका छन् । सभासद्को टोलीले साउन ४ र ५ गते अन्तरकृया गरी जनताको सुझाव संकलन गर्नेछन् । सचिवालयका कर्मचारीहरु भने भोलीदेखी नै सम्बन्धिन क्षेत्रमा गएर अन्तरकृयाको तयारी गर्नेछन् । २ सय ४० निर्वाचन क्षेत्रमा खटिने सबै टोलीले दुई दिन सुझाव संकलन गरी फर्किएर ७ गतेको संविधानसभा बैठकमा प्रतिवेदन पेश गर्ने साँघुरो कार्यतालिका बनाइएको छ । 


३१ गतेसम्म सरकारको नीति तथा कार्यक्रम र पेस्की खर्च विधयेक पारित गरेपछि मात्र सभासद् एक गतेदेखि निर्वाचन क्षेत्रमा जाने एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले जानकारी दिनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री, गृहमन्त्री, दलका प्रमुखसचेतक र सुरक्षा निकायका प्रमुखहरुसँग गरेको छलफलमा सचिवालयले कर्मचारी अपुग हुने बताएपछि सरकारले अन्य कर्मचारीलाई पनि काजमा खटाउने प्रतिवद्धता जनाएको छ ।

सरकारको प्रतिवद्धता अनुसार गाउँ गाउँ खटिने कर्मचारीको आजै बुलुकीसम्म टुंगो लाग्ने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताउनुभयो । फिल्डमा खटिने कर्मचारीले एक गते अघि नै सम्बन्धित गविस र नगरपालिकामा पुगेर मस्यौदा वितरण गरिसक्नेछन । त्यसका लागि जनक शिक्षा सामाग्रीबाट २ लाख प्रति मस्यौदा छापिएको छ भने दुई तीन दिनमा थप एक लाख प्रति छापिने छ ।   

सुझाव संकलन गरी प्रतिवेदन तयार गर्नका लागि निक्कै छोटो अवधि भएपछि फिल्डमा खटिएका कर्मचारीले केन्द्रमा रहेका कर्मचारीसँग दैनिक रिपोटिङ गरी प्रतिवेदन लेखनमा सघाउनेछन् । वर्षाको समयमा मौसमको अवरोध हुनसक्ने भन्दै आवश्यक हेलिकोप्टर चार्टर्ड गरी तीन ठाउँमा तयारी अवस्थामा राख्ने सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।

 


हेलिकप्टरका लागि मौसम प्रतिकुल भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले बैकल्पिक व्यवस्थापन गर्ने छन् ।  प्रयास गर्दा पनि सम्बन्धित निर्वाचन क्षेत्रमा जान नसकिए सञ्चार माध्याम परिचालन गर्ने सचिवालयको तयारी छ  । मस्यौदा प्रति असहमती जनाएर मस्यौदा च्यातेका दलहरुले अवरोध गर्ने बताए पनि त्यो अवस्था नआउने सचिव शर्माले बताउनुभयो ।