Thaha

Saturday 20 April - 4:37 am NST

आयल निगमले झण्डै १३ अर्ब श्रृण तिर्यो


रविन्द्र घिमिरे
काठमाडौ,२३ असार ।


अन्तर्र्रािष्ट्रय बजारमा कच्चा तेलको मुल्य ओरालो लाग्न थालेपछि नेपाल आयल निगमले १२ अर्ब ७८ करोड रुपैयाँ ऋण तिरेको छ । गत आठ महिना अघि देखि तेलको मुल्य सस्तिएर नाफा हुन थालेपछि झण्डै १३ अर्व रुपैयाँ ऋण तिरिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले रेडियो थहा सञ्चारलाई जानकारी दिनुभयो । घिमिरेका अनुसार  निगमले कर्मचारी संचय कोषको ६ अर्ब ८५ करोड रुपैयाँ ऋण तिरिसकेको छ भने अझै ६ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै नागरिक लगानी कोषको ५ अर्ब ९३ करोड रुपैयाँ तिरिसके पनि अब तीन अर्व रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस अवधिमा निगमले भारतीय आयल निगम आईओसिलाई तिर्न बाँकी ५ अर्व १६ करोड रुपैयाँ पनि भुक्तानी गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।  विगत आठ महिना अघि ३६ अर्ब ६६ करोड रुपैयाँ रहेको निगमको ऋण घटेर २३ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । 


यही अवधिमा आयल निगमले मूल्य स्थिरीकरण कोषमा २ अर्ब ६० करोड रुपैयाँ पनि जम्मा गरिसकेको घिमिरेले बताउनुभयो । निगम अहिले मासिक ६२ करोड रुपैयाँ नाफामा छ । 
यसैबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी छ । ग्रीसको जनमत संग्रहको परिणामपछि आर्थिक संकट गहिरिने आँकलनका बीच आज कच्चा तेलको भाउ प्रतिब्यारल ५६ डलर ५४ सेन्टमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यो विगत तीन महिना यताकै सबैभन्दा कम मूल्य  हो ।