Thaha

Saturday 20 April - 9:01 am NST

राप्रपा नेपालको नारबाजी रोकियो

काठमाडौं, असार १९। धर्म परिवर्तनलाई संविधान मस्यौदाको मौलिक हकमा राखिएको बिरोधमा राप्रपा नेपालले संविधानसभामा गरेको अबरोध हटेको छ । प्रमुख दलका शीर्ष नेताहरुसँग धर्मबाट अलग हुन पाउने अधिकारलाई धर्म परिवर्तनको स्वतन्त्रताका रुपमा ब्याख्या नगर्ने समझदारी भएपछि राप्रपा नेपालले नाराबाजी रोकेको हो ।

सभाध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा प्रधानमन्त्री सुशील कोईराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा मस्यौदा परिमार्जनका क्रममा स्पष्ट ब्याख्या गर्ने समझदारी भएको हो । शीर्ष नेताहरुबीच सहमति बनेपछि संविधानसभामा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदामा समावेश गरिएको धार्मिक हक र स्वतन्त्रताका विषयमा थप स्पष्ट पार्नुभएको थियो । उहाँले पुरानो संविधानसभा र त्यतिबेलाको समितिले सर्वसम्मतिले पारित गरेको प्रावधानलाई अहिले जस्ताको तस्तै समावेश गरिएको जानकारी दिदै अहिले बाहिर ब्याख्या गरिएजस्तो धर्म परिवर्तनको स्वतन्त्रतालाई मौलिक हकमा नराखिएको दाबी गर्नुभयो ।

त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले शीर्ष नेताहरुसँगको छलफलमा सहमति भएको बताउँदै संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने उद्देश्य नै आफ्नो पार्टी रहेको बताउनुभयो ।  धार्मिक स्वतन्त्रता र समानता हुनुपर्नेमा आफ्नो पार्टीको विरोध नरहेको भन्दै थापाले अहिले योजनावद्ध र संगठित रुपमा भइरहेको धर्म परिवर्तनलाइ प्रावधानले प्रोत्साहन गर्ने भएकाले संविधानसभा अवरोध गर्नुपरेको बताउनुभयो ।

राप्रपा नेपालले नाराबाजी रोकेपछि संविधानको मस्यौदामाथिको सैद्धान्तिक छलफल चलिरहेको छ ।