Thaha

Saturday 27 April - 12:51 am NST

पदीय मर्यादाविपरित काम नगरेको सभामुख घर्तीको प्रष्टिकरण

 

काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीमगरले दलहरुबीच सहमति भए जुनसुकै विषय आफू छलफलका लागि अघि बढाउन तयार रहेको बताउनुभएको छ । आफ्नो सरकारी निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले दलहरुबीच सहमति भए अविश्वास प्रस्ताव वा बजेट आश्रित विधेयक जुनसुकै विषय संसदमा छलफल गराउन आफू तयार रहेको बताउनुभयो । 
आफूले अविश्वासको प्रस्तावमा छलफल हुनुअघि आर्थिक विधेयक पारित गर्न चाहेको पनि उहाँले बताउनुभयो । ‘दलहरुबीच सहमति हुन्छ भने म कुनै पनि विकल्प रोज्न तयार छु ।’ उहाँले भन्नुभयो– समय फेर्न तयार छु ।’ तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि नेपाली कांग्रेस र नेकपा माओवादीले नमानेको सभामुखको गुनासो छ । सत्तापक्षका सांसदहरुले आर्थिक विधेयकसम्बन्धी प्रस्तावलाई कार्यसूचीलाई हटाएर पछि सारेको भन्दै सभामुखप्रति असन्तुष्टि जनाइरहेका बेला उहाँले आफू तटस्थ भूमिकामै रहेको प्रष्टिकरण दिनुभयो । ‘तीन दिनसम्म प्रयास गर्दा पनि सहमति जुटाउन सकिनँ ।’ उहाँले भन्नुभयो– अविश्वासको प्रस्ताव दर्ता भए पनि ति विधेयकमाथि कांग्रेस माओवादीले छलफल गर्न दिन्छन् भन्ने लागेको थियो तर उनीहरुले मानेनन् ।’
दलहरुबीच सहमति नभए कार्यसूचि अनुसार अविश्वास प्रस्तावमा छलफल हुने पनि उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपतिलाई एमाले र आफूलाई माओवादीसँग जोडेर हेर्नु गलत हुने पनि सभामुखले बताउनुभयो । सभामुख घर्तिले आफूलाई पूर्व पार्टीसँग जोडेर नहेर्न आग्रह गर्दै पदको मर्यादा विपरित काम नगरेको बताउनुभयो ।