Thaha

Saturday 27 April - 6:40 am NST

भारी बर्षासँगै देशैभरको जनजीवन प्रभावित / चारजनाको मृत्यु, २४ जना घाइते, एक जना वेपत्ता

काठमाडौं, १७ असार । भारी बर्षासँगै देशैभरको जनजीवन प्रभावित भएको छ । भारी बर्षासँगै गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने २४ जना घाइते र एक जना बेपत्ता भएका छन् ।
बिहीबाररातीदेखि परेको अविरल बर्षाका कारण पर्खाल भत्केर ललितपुरमा दुई जना स्कूले बिद्यार्थीको मृत्यु भएको छ भने दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ललितपुरको गोदावरी नगरपालीका—६ टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कुल पछाडी रहेको पर्खाल भत्किंदा कक्षा–३ मा अध्ययनरत टौखेल बस्ने ९ बर्षिया कृपा राई र १० बर्षिया अन्जना पुन मगरको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । जग्गा प्लटिङ्ग गर्ने व्यवसायीले बनाएको पर्खाल भत्किएर प्लाईउडले बारेको पुष्पाञ्जली बोर्डिङ्गको कक्षा ३ मा ठोक्किएको थियो । घाईतेको पाटन  र अन्यको बिएन्डबी अस्पतालमा उपचार भईरहेको छ । जग्गा प्लटिङ्ग व्यवसायी कर्म लामा भन्ने सुचना प्राप्त भएपनि एकिन जानकारी प्राप्त भइनसकेको ललितपुरका एसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो । पर्खाल लगाउने क्रममा प्लटिङ्ग व्यवसायीले लापरबाहि गरेको पुष्टि भएमा कानुन अनुसार कारबाहि गरिने अधिकारीले बताउनु भयो ।  
यस्तै वर्षाका कारण आएको पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बिहान पहिरोले पुरीएर मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी र सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको मृत्यु भएको छ । दार्चुलाकै अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा वेपत्ता भएकी ६५ वर्षिय भगरति महर अझै भेटिनुभएको छैन । उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खसेपछि प्रहरी चौकीको काम अहिले वन रेन्जपोस्ट कार्यालयबाट भईरहेको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिनुभयो । दिउँसोदेखी पानी पर्न रोकिएको र थप मानवीय क्षतिको जानकारी नआएको उहाँले बताउनुभयो । 
काठमाडौंसहित केही स्थानमा साँझदेखी पानी पर्न रोकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्य तथा पश्चिमी क्षेत्रका अधिकांस ठाउँमा भने अझै मौसम पूर्ण बदलीको अवस्थामा रहेको र भारी बर्षा भईरहेको मौसमवीद् समिर श्रेष्ठले जानकारी दिनुभयो । अविरल बर्षाका कारण खतराको संकेत पार गरेको नारायणी नदिको पानीको बहाव घटेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदिको बोर्लाङ्गपुल, चर्छरे, कल्याणपुर र ठोरीमा पानीको बहाव खतराको सूचक भन्दा माथि पुगेपछि सचेत गराएको थियो । विभागको पछिल्लो रेकर्डअनुसार देवघाटस्थित नारायणी नदिमा पनि पानीको बहाव घटेको छ भने कर्णाली, बबई, राप्ति नदिमा पानीको बहाव खतराको संकेतभन्दा तल रहेको छ ।  महाशाखाले प्रत्येक एक घण्टामा ६० मिलीमिटर तथा २४ घण्टामा १ सय ४० मिलीमिटर बर्षा भएपछि चेतावनी जारी गर्ने गरेको छ । 
यसैवीच अवरुद्ध मुग्लिन–नारायाणगढ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहीबाररातिदेखि परेको पानीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि सडकका दुबै तर्फ गाडी रोकिएकोमा दिउँसो साढे ४ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तर अहिले पनि ठूलो पहिरो जाने सम्भावना रहेकाले जोखीम रहेको प्रहरीले जनाएको छ ।