Thaha

Saturday 27 April - 10:27 am NST

कांग्रेसद्धारा संसद बैठक फेरी अवरुद्ध


काठमाडौं, १७ जेठ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक फेरी अवरुद्ध गरेको छ । बिहान ११ बजे शुरु हुने बित्तीकै कांग्रेसले अवरुद्ध गरेको बैठक आधा घण्टापछि शुरु गर्न लग्दा फेरी अवरुद्ध गरेको हो । बैठक साँढे १ बजे सम्मलाई स्थगित भएको छ । बजेट सार्वजनिक हुनुपूर्व विभिन्न संचार माध्यम मार्फत सार्वजनिक गरिएकाले यसको सम्बोधन नगरेसम्म बैठक चल्न नदिने नेपाली काँग्रेसले जनाएको छ । बैठक शुरु भएलगत्तै काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर सदनको कामकारबाही अगाडी बढ्न नदिएपछि सभामुख ओनसरी घर्तिले बैठक स्थगित गर्नु भएको छ ।

नेपाली काँग्रेसले बजेट पहिल्यै सार्वजनिक भएको विषयमा छानविनका लागि समिति गठन गर्नुपर्ने माग गरेको छ । सरकारले आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि सार्वजनिक गरेको बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल गर्ने तय गरिएको थियो ।  बजेट हावादारी भएको टिप्पणी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेटका विषयमा संसदमा चर्काे बिरोध गर्ने तयारी पनि गरेको छ । एमालेले एकलौटी बजेट ल्याएको भन्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल पनि असन्तुष्ट छन् । उनीहरुले पनि बजेटप्रतिको असन्तुष्टि संसदमा राख्ने र संशोधन प्रस्ताव दर्ता गर्नेतयारी गरेका छन् ।

एमालेले भने आफ्ना सांसदलाई बजेटमाथि हुने बिरोधको डटेर सामना गर्न र बजेटमाथि कुनै संसोधन नहाल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले गत शनिबार संसदमा १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट संसदमा पेश गर्नुभएको थियो । संसद सचिवालयका अनुसार बजेटमाथिको सैद्धान्तिक छलफल यहि २० गतेसम्म सक्ने तयारी गरिएको छ ।