Thaha

Monday 29 April - 10:15 pm NST

तत्काल सरकारको विकल्प खोज्न कांग्रेस नेतृत्वलाई दबाब


काठमाडौं, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र तत्काल सरकारको विकल्प खोज्नुपर्ने दवाब बढेको छ । मधेश समस्याको समाधान, संविधानको कार्यान्वयन र भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको काममा वर्तमान सरकार असफल भएको भन्दै कांग्रेसका सांसदहरुले सरकारको विकल्प खोज्न नेतृत्वलाई दबाब दिएका हुन् । आज संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकमा अधिकांश सदस्यहरुले अहिलेको सरकारलाई अब निरन्तरता दिइरहन नहुने भन्दै सबैभन्दा ठूलो दलको नाताले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउनुपर्नेमा जोड दिएका छन् । केपी ओली नेतृत्वको सरकारले निरन्तरता पाए मधेसको समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने भन्दै तत्काल सरकारको विकल्प खोज्न अधिकांश सांसदले दबाब दिएको बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । सांसदहरुले पुनर्निर्माणको काममा भएको ढिलासुस्ती, न्यायालयमा गर्न खोजेको राजनीतिकरण, महिनौंदेखि मौलाएको कालोबजारी लगायतलाई आधार मानेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको नेता निधिले बताउनुभयो । कांग्रेस सांसद्हरुले सरकारमाथि कालोबजारीलाई संस्थागत गरेको आरोप समेत लगाएका छन् । न्याय परिषद्ले एमालेकी पूर्व सभासद् सपना प्रधान मल्ल र एमाले समर्थित पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुने रोलक्रम सहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको प्रति पनि काँग्रेसका सांसद्हरुले आपत्ति जनाएका छन् । उनीहरुले एमाले नेतृत्वको सरकार स्वतन्त्र न्यायपालिकालाई राजनीतिकरण गर्न तल्लीन रहेको विषयलाई पार्टीले सामान्य रुपमा लिन नहुने धारणा राखेका छन् ।