Thaha

Saturday 27 April - 11:19 pm NST

आज जनयुद्ध दिवस, माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै


काठमण्डौं, १ फागुन । 
आज फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २१ औं जनयुद्ध दिवश मनाउँदैछन । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले आज विभिन्न जिल्लामा एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवस मनाउँदै छन भने काठमाडौंमा भिन्नाभिन्नै कार्यक्रम हुँदैछन । एकीकृत नेकपा माओवादीले दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जनयुद्ध दिवसको विशेष कार्यक्रम गर्दैछ । बिहान काठमाडौंमा सबै माओवादीहरुबीच एकताका लागि विशाल र्याली निकालिएको थियो ।

यसैबीच आज जनयुद्ध दिवसका अवसरमा एकता हुने भनेर व्यापक चर्चा भएपनि एकता नहुने भएको छ । एकताका लागि अन्तिम रुप दिने जिम्मा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई दिए पनि दुई नेताबीच कुरा नमिलेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले एकताका लागि बुँदा तयार गरेर मोहन वैद्यलाई पठाएपनि वैद्यले अझै तयार गर्नुभएको छैन् । वैद्य विरामी पनि भएकोले ढिलाई भएको छ । प्रचण्ड र वैद्यले एकताको प्रस्ताव तयार गरेपछि मणि थापा र मात्रिका यादवको पार्टीले समर्थन गर्ने गरी तयारी भएको थियो ।