Thaha

Friday 26 April - 10:12 am NST

नविकरणीय उर्जा प्रदर्शनी भृकुटीमण्डपमा जारी, चुल्हो र ब्रिकेटका स्टलमा भिड्भाड


काठमण्डौं, १८ पुस ।  सन्चु ब्लोन, 

शुक्रकबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नविकरणीय उर्जा प्रदर्शनी भइरहेको छ ।  अहिले इन्धनको अभाव र जसका कारण अस्तबेस्त बनेको जनजीवनलाई सहज बनाउन उपलब्ध वैकल्पिक उर्जाको विषयमा जानकारी गराउने उद्देश्यले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले प्रदर्शनी गरेको हो । प्रदर्शनीमा सोलार प्यानल, सुधारिएको चुल्हो, वायोग्यास, लघुजलविद्यु, वायु उर्जालगायत प्रविधिका सामाग्रीका झण्डै १ सय ५० भन्दा बढि स्टल राखिएका छन् ।

भोलि सम्म चल्ने प्रदर्शनीको पहिलो दिन हिजो भिंड नै लाग्यो । दोस्रो दिन आज विदाको दिन परेकोले अझ बढि अवलोकनकर्ता आउने अपेक्षा गरिएको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम धितालले बताउनुभयो । 
प्रदर्शनीमा धेरैको आकर्षण ब्रिकेट र कम दाउरा लाग्ने विभिन्न खाले चुल्होमा पाइएको छ । अजम्बरी विकास फाउण्डेसनका गौरव अधिकारी स्टलमा आएकाहरुलाई चुल्होको बारेमा जानकारी दिन ब्यस्त हुनुहुन्छ । अधिकारी भन्नुहुन्छ, ‘ हामीसंग ५ प्रकारका चुल्हो छन् ।

यी चुल्होमा कम दाउरा लाग्छ, नेपालमै उत्पादन भएको चुल्होको २५ सय देखि ३ हजार सम्म पाईन्छ ।’ उहाँको स्टलमा मानिसको भिड्भाड् छ । 
भृकुटि मण्डपको प्रदर्शनी हलभित्र विषेश गरी घरका मुलि र गृहेणीहरु विकाल्प खोज्न आएका छन् । ग्याँस छैन, दाउरा पनि पाउन मुस्किल छ, जाहान परिवार भोकभोकै बस्न पर्ने अवस्था सम्मका कष्ट भोगेकाहरुलाई प्रदर्शनीले केहि राहत दिएको छ ।

संखुवासभा घर भइ काठमण्डौं बस्दै आएका सुजिन राई आफुले इन्धनको अभावको बेला यस्तो विकल्पहरु पनि छन् भन्ने थाहा नभएको र प्रदर्शनीमा आउँदा धेरै कुरा पाएको बताउनुहुन्छ । झोलाभरी ब्रिकेट र ब्रिकेट बालेर आगो ताप्ने भाँडा लिएर प्रदर्शनी हलबाट बाहिरिदै गरेका राईले सबैले यस्तै बैकल्पिक उर्जाको प्रयोग बढाउँदै लगे कुनै खालको अभावको अवस्था नआउने बताउनुभयो । 

ठुला र महंगा भन्दा पनि तत्कालको समस्याबाट मुक्त हुन के के विकल्प छन् भन्ने धेरैको चासो प्रदर्शनीमा छ । यसअघि घरमा आगो ताप्न र सुत्केरीलाई सेकाउन भन्दै प्रयोगमा ल्याइएको ब्रिकेट अहिले इन्धनको अभावमा सबैको पहिलो रोजाई बनेको छ । घरेलुदेखि होटल ब्यवसाय गर्ने प्रयोजनको लागि अहिले ब्रिकेटको माग उच्च छ । ‘हामीलाई भ्याइनभ्याइ भएको छ । माग धान्न कहाँ सक्छौ र ? ग्याँसको सट्टा ब्रिकेट प्रयोगकार्तहरु बढाउन सरकारले ब्रिकेटलाई अनुदान दिनुपर्ने र खेर गएको वनपैदवार सदुपयोग गर्न दिनुपर्छ, हिमालयन प्रालिका सुसिल ज्ञवालीले भन्नुभयो ।  

प्रदर्शनीमा दुध उत्पादक किसान र दुध तथा दुग्धजन्य उत्पादन गर्ने ब्यवसायीलाई फाइदा पुग्ने मेसिन पनि राखिएको छ । खुवा बनाउनका लागि यो मेसिनको विकास गरिएको हो । नाम खुवा बनाउने मेसिन दिइएको छ । युएनडिपीको सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले मेसिन बनाएको हो । यो मेसिनको ५ लाख मुल्य पर्ने र यसमा ४ किलोवाट विद्युत खपत हुने तर सौर्यबाट पनि चलाउन सकिने बताउनुहुन्छ, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सनिमा थापा ।