Thaha

Friday 26 April - 6:36 pm NST

हिमाली क्षेत्रमा याक, नाक र चौंरी पालनलाई व्यवसायिक बनाउने


काठमण्डौं, १२ मंसिर । 
हिमाली क्षेत्रमा पाईने याक, नाक र चौंरी पालनलाई व्यवसायिक बनाउन सरकारले किसानलाई सघाउने भएको छ । चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएपछि पशु उत्पादन निर्देशनालय र केन्द्रीय गाइभैंसी प्रर्वधन कार्यालयले हिमाली क्षेत्रका युवालाई याक, नाक र चौंरी पालन व्यवसायमा आकर्षित गर्ने कार्यक्रम शुरु गर्ने तयारी गरेका हुन । पशु उत्पादन निर्देशनालयका प्रमुख डाक्टर लोकनाथ पौडेलले हिमाली आयोजना मार्फत अहिले पनि युवालाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम संचालन भएको र थप कार्यक्रमका लागि पनि छलफल भैरहेको बताउनु भयो । आयोजना अन्तरगत सोलुखुम्बुको स्याङ्बोचेमा पशु बिकास फार्म स्थापना गरेर किसानलाई सहयोग गर्न थालिएको छ । फार्ममा तिब्बतबाट ल्याइएका उन्नत जातका याक मार्फत नश्ल सुधारको काम भैरहेको छ ।

सरकारले चरन क्षेत्रको बिकास, बासस्थान र उत्पादित बस्तुको बजारीकरणमा किसानलाई सघाउने तयारी गरेको छ । हिमाली क्षेत्रमा मुख्य ढुवानीको माध्यम याक, नाक र चौंरीबाट भुँवा, चमर र आलो रगत विक्रि गरिन्छ । त्यस्तै छुर्पी र दुध पनि औषधीय  गुणयुक्त हुने भएकाले विदेशी पर्यटकका लागि आकर्षक मानिन्छ । भालेलाई याक, पोथीलाई नाक र स्थानीय गाईमा याकको क्रसबाट जन्मिएकालाई चौंरी भनिन्छ । नेपालको हिमाली क्षेत्रमा पाईने  याक, नाक र चौंरीको संख्या झण्डै ६० हजार छ ।