Thaha

Tuesday 30 April - 11:53 am NST

भट्टराईको नयाँ शक्तिको कार्यविभाजन एमाओवादीको जस्तै

काठमाडौं, ८ मंसिर । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा नेताहरुको जिम्मेवारी बाँडफाट गरिएको छ । 
काठमाडौंमा भएको दुई दिने राष्ट्रिय भेलाको निर्णय सावर्जनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय संयोजक डाक्टर बाबुराम भट्टराईले विभिन्न प्रदेश र विभागको जिम्मेवारीबारे जानकारी गराउनुभयो । नयाँ शैली र संरचनामा पार्टी बनाउने भने पनि नयाँ शक्तिको संगठनात्मक संरचना एमाओवादीको जस्तै छ र त्यसैअनुसार जिम्मेवारी बाँडफाँट गरिएको छ । नयाँ शक्ति अभियानको केन्द्रीय संयोजकमा भट्टराई हुनुहुन्छ भने किरात–लिम्बुवान र कोचिलाको संयोजकमा राजेन्द्र किराँती, मिथिला–भोजपुरामा रामचन्द्र झा, नेवा–ताम्सालिङ गंगानारायण श्रेष्ठलाई जिम्मा दिइएको छ । त्यस्तै, तमुवान–बागलुङ र म्याग्दीमा देवेन्द्र पराजुली, मगरात–अवध र थारुवानमा वामदेव क्षेत्री, भेरी कर्णालीको संयोजकमा भक्तबहादुर शाही, सेती–महाकालीको संयोजक नवराज सुवेदीलाई बनाइएको छ भने अन्तर्राष्ट्रिय विभागको संयोजकमा भट्टराई पत्नि हिसिला यमी हुनुहुन्छ । जनवर्गीय संगठनको संयोजकको जिम्मा कुमार पौडेलले पाउनुभएको छ भने जातीय मोर्चाको जिम्मा रामकुमार शर्मालाई दिइएको छ । 
यसैबीच, पत्रकार सम्मेलनमा नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले मधेसका आन्दोलनरत पक्षलाई भारतसँग जोडेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । सरकारले तराईको समस्या समाधान ठोस प्रस्ताव नलाएर उल्टै आन्दोलनकारी पक्षलाई भारतसँग जोडेर बद्नाम गराउन खोजेको भट्टराईको आरोप छ ।
। सरकारले समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुको सट्टा जनताको देशभक्तिपूर्ण भावनालाई गलत ढगंले जोडेको पनि आरोप लगाउनुभयो । भट्टराईले  खोक्रो राष्ट्रवाद स्वीकार्न नसक्ने बताउनुभयो । उहाँले मंगलबारदेखि नयाँ शक्ति अभियान सुरु भएको भन्दै अब सबै जिल्ला, क्षेत्रमा खटिने जानकारी दिनुभयो । नयाँ शक्ति निर्माणका लागि भन्दै भट्टराईले काठमाडौंमा मंसिर ५ र ६ गते राष्ट्रिय भेला आयोजना गर्नुभएको थियो ।