Thaha

Saturday 27 April - 12:37 am NST

पेट्रोलको अभावबारे निगमले उपत्यकाका पम्पहरुको अनुगमन गर्दै

काठमाण्डौं, १० भदौ । बजारमा एकाएक पेट्रोलको अभाव उत्पन्न भएपछि आयल निगमले आज उपत्यकाका विभिन्न पम्पहरुको अनुगमन गर्दैछ ।

निगमले पर्याप्त ईन्धन वितरण गरेपनि बजारमा चरम अभाव देखिएपछि पम्पहरुको अनुगमन गर्न लागिएको निगमका निर्देशक मुकुन्द ढुँगेलले बताउनुभयो । यद्धपी पेट्रोलको मूल्य घट्ने अवस्थामा रहेकाले व्यापारीहरुले लुकाउने सम्भावना नरहेको भन्दै निर्देशक ढुँगेलले तराईमा विभिन्न समूहले गरेको आन्दोलन लम्बिने डरले उपभोक्ताले नै धेरै सञ्चित गरेकाले समस्या आएको हुनसक्ने बताउनुभयो ।

निगमका प्रवक्ता सिताराम पोखरेलले उपत्यकामा साविकको भन्दा बढि पेट्रोल वितरण गरिएको भन्दै निगमसँग अझै १५ सय किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेल सञ्चित रहेकाले कुनै समस्या नहुने बताउनुभयो ।  तराई बन्दमा पनि सुरक्षाकर्मीको स्कर्टिङमा तेल ट्याङकरहरु उपत्यका भित्रने क्रममा रहेकाले इन्धनको कुनै अभाव नहुने उहाँको दाबी छ । निगमले उपत्यकामा दैनिक ३ सय किलोलिटर पेट्रोल वितरण गर्दै आएको जनाएको छ ।

हिजोमात्र ३ सय ७० र अस्ती ३ सय ८४ किलोलिटर पेट्रोल वितरण गरिएको प्रवक्ता पोखरेलले  बताउनुभयो ।