Thaha

Saturday 27 April - 3:05 am NST

मुस्ताङमा सुरक्षित प्रसूती बढ्दै

संजय रेग्मी

पर्वत, साउन २७ हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउनेहरुको संख्यामा क्रमश वृद्धि हुन थालेको छ । सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागु भएपछि स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाहरु बढेका हुन् । आर्थिक वर्ष ०७२—०७३ मा ५५ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा बच्चा जन्माएका छन् । यो संख्या आर्थिक वर्ष ०७० र ०७१ को तुलनामा बढि हो ।

जिल्ला अस्पताल मुस्ताङका अनुसार आर्थिक वर्ष ०७२ र ०७३ मा जिल्लामा ५५ जनाले सुरक्षित रुपमा बच्चा जन्माएका, घरमै एसबिए द्धारा ३ जना, एसबिए बिना १ जना र अन्य २ जनाले बच्चा जन्माएका थिए । यसरी हेर्दा अस्पतालमा आइ सुत्केरी हुने आमाहरुको संख्या क्रमश बढ्दो छ । निशुल्क सुरक्षित प्रसूति सेवा, न्यानो कपडाहरु र यातयात खर्च समेत पाइने भएपछि महिलाहरु सुत्केरी हुन अस्पतालमा आउन उत्साहित हुन थालेका छन् ।

स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप १५ सय रुपैयाँ बाटो खर्च, निशुल्क प्रसूतीको सेवा नियमित गर्भजाँच, आईरन चक्की खाने र टिटी सुई लगाउने सुत्केरी सेवा उत्प्ररेणा भत्ता थप ४ सय दिने व्यवस्था रहेको जिल्ला अस्पताल मुस्ताङकी अनमी अनुसा थकालीले जानकारी दिनुभयो । थकालीका अनुसार मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएपछि स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने आमाहरुकोे सङ्ख्या बढ्न थालेको हो ।

स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी गराउने क्रम बढेपछि बाल मृत्युदरमा पनि कमी आएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ । आर्थिक वर्ष ०७२ र ०७३ लाई हेर्दा जिल्ला अस्पताल मुस्ताङमा सुत्केरी गराउन आउने मध्ये मातृ मृत्युदर र बाल मृत्युदर शुन्य देखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय मुस्ताङका अुनसार आमा र शिशुको स्वास्थ्यका विषयमा सचेत बनेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा प्रसूती गराउनेको संख्या बढेको हो । सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन  आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम समेत ल्याएको छ । जसले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूती गराउनेको संख्यामा वृद्धि भएको छ । 

उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, ¥यापर र नेम्फिन दुईदुई जोरको व्यवस्था गरिएको छ । यो कार्यक्रमले एकातिर स्वास्थ्य सुरक्षा प्रदान गर्ने र अर्का्तिर जनचेतना अभिवृद्धि गर्न पनि सघाउ पु¥याएको स्वास्थ्य कार्यालयको विश्वास छ । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिए वापत सरकारले दिने भत्ता, यातयात खर्च तथा न्यानो झोलाको प्रभावकारिता राम्रो देखिएको छ, प्रसूति केन्द्रमा आएर सुत्केरी हुने आमालाई थप प्रोत्साहन मिलेको छ ।

जिल्लामा अहिले जिल्ला अस्पताल मुस्ताङ संगै १६ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन् । सबै केन्द्रमा दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ हिमाली जिल्ला भएकाले चीसो बढि हुने र बच्चा जन्मदा वित्तिकै अथवा जन्मेको २८ दिन भित्र चिसोका कारण शिताङ्ग (कठ्याङग्रीएर) भएर मर्न सक्ने हुँदा त्यस्तो समस्या आउन नदिन जिल्ला अस्पताल जोमसोममा रेडियन्ट वार्मर मेशिन यस वर्ष देखि संचालनमा ल्याईएको छ । बच्चाको शरिरलाई आवश्यक पर्ने तापक्रम सो मेसिन द्धारा उपलब्ध गराई बालमृत्युदर कम गर्नको लागि मेसिन संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य प्रमुख शम्भु ज्ञवालीले बताउनुभयो ।