Thaha

Friday 26 April - 11:31 am NST

काभ्रेमा यात्रुवाहक बस दुर्घटना ३१ जनाको मृत्यु , ४० जना घाईते

काठमाण्डौं, साउन ३१ । काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुंदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाईतेमध्ये गम्भिर २० जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौं र अन्य २० जनालाई एम्बुलेन्समार्फत धुलीखेल ल्याईएको छ ।

मृतकमध्ये कात्तिके देउराली—३ का विण्णु बास्कोटा, देउराली—४ का उमेश बास्कोटा, मादनकुँडारी—९ का पञ्च तामाङ्ग, गोठपानी—२ का रमेश विक र मादनकुँडारी—१ की ८ बर्षिया बालीका एलिसा लामाको पहिचान खुलेको छ । काठमाडौंबाट मादनकुडारी जादै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख १०६ नम्बरको बस काभ्रेको विर्ता देउराली—९ कोलाती खहरेमा आज दिउँसो १ बजे दुर्घटनामा परेको हो । तर प्रहरीको टोली दुर्घटना भएको झण्डै डेढ घण्टापछि घटनास्थल पुगेको थियो । दुर्घटनास्थल सदरमुकामदेखी ३८ किलोमिटरको दुरीमा रहेको छ ।

प्रहरी नायब उपरिक्षक डिएसपी नवीनराज राईले बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको जानकारी दिनुभयो । बस उकालो बाटोमा ब्याक भएर सडकबाट तल खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी मिलेर घाईतेहरुलाई भिरबाट झिकेर माथि सडकमा ल्याएका थिए ।  

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे दुर्घटनाका घाईतेको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । “काभ्रेमा बस दुर्घटनाको दुखद समाचार प्राप्त भएको छ, सरकारका सम्पूर्ण संयन्त्र र पार्टी नेता, कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन गरिएको छ” प्रधानमन्त्री प्रचण्डले फेसबुक स्ट्यास लेख्नुभएको छ । यस्तैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दुर्घटनाप्रति दुख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभएको थियो ।