Thaha

Saturday 27 April - 12:58 pm NST

पर्वतमा जिप दुर्घटना हुँदा ३ महिलाको मृत्यु / ८ घाईते, ३ को अवस्था गम्भिर

काठमाडौं, २५ भदौ । पर्वतको धाइरिङमा शनिबार जिप दुर्घटना हुँदा ३ जना महिलाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धाइरिङ–८ की ५५ वर्षीया हरिमाया पुन, कास्की रिवाङ–९ घर भइ धाइरिङ केराबारी बस्ने ६० वर्षीया दिलकुमारी बुढाथोकी र म्याग्दी ज्यामुर्काेट–३ भकुण्डेकी ५० वर्षीया राममाया दमाई रहेको म्याग्दी ट्राफिक प्रहरी प्रमुख तीर्थराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते कास्की रिवाङकी २१ वर्षीय लुकमाया बुढाथोकी, २ वर्षीय बालक निश्चल बुढाथोकी र १४ वर्षीय अमृत पुनको अवस्था गम्भीर छ । कास्कीका ४ वर्षीय निरज बुढाथोकी, पर्वत धाइरिङ–८ की ९ वर्षीया पुजा परियार, ६० वर्षीय बिके दर्जी, २४ वर्षीय प्रकाश परियार र पर्वत सालिजा–९ की २० वर्षीया सीमा पाइजा पनि घाइते भएका छन् । 
चालकसहित ६ जनाले हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । ग १ ज ५१०२ नम्बरको जिप मध्यान्ह धाइरिङमा दुर्घटना भएको हो । उकालो बाटो र ओभर लोडका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चालक  फरार छन् ।