Thaha

Saturday 27 April - 5:25 pm NST

ताप्लेजुङ्गमा पहिरोमा परेर एकै परिवारका तीनजनाको मृत्यु


काठमाण्डौं, १८ भदौं । 
ताप्लेजुङमा पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर अर्का एक जना वेपत्ता भएका छन भने एक जना घाईते भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । ताप्लेजुङ्ग नगरपालिका दुईका टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललितको मृत्यु भएको हो । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरोले पुगेको थियो । उनीहरुको शव  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको छ । यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । स्थानीय माइली सुब्बा बेपत्ता भएकी र कान्छी सुब्बा घाइते भएकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ । 

 पहिरोका कारण विभिन्न ठाउँमा २५ वटा घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्गमा गाडी चलेका छैनन । पहिराका कारण ताप्लेजुङ्ग नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ ।

यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । गए राति १ बजेदेखि झरेको पहिरोले वडानम्बर –९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा  क्षति पु¥याएको स्थानीयवासी गणेश नेपालले बताउनुभयो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ । उद्धार गर्न कठिनाइ भएका क्षेत्रको पहिचान गरी ती क्षेत्रमा रहेका बासिन्दा उद्धार गर्न थप उपायका बारेमा सोचिरहेको र अहिले पनि सुरक्षा निकायका सबै संयन्त्रबाट र स्थानीयवासीबाट उद्धार गर्ने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।