Thaha

Saturday 27 April - 11:11 am NST

भुकम्प प्रभावितलाई अनुदान दिन विशेष अभियान

काठमाण्डौं, साउन ३१ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई अनुदान रकम उपलब्ध गराउन विशेष अभियान सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद्बहालीका क्रममा ४५ दिनभित्र ३१ जिल्लाका ५ लाख ३३ हजार भुकम्प प्रभावितहरुलाई पहिलो किस्ताको अनुदान दिइसक्न निर्देशन दिएपछि प्राधिकरणले आज एक महिने विशेष अभियान सुरु गरेको हो ।

प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सरकारको घोषणालाई पूरा गर्न विशेष अभियान सुरु गरिएको जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले अभियान अन्र्तगत सम्झौता सम्पन्न भएका घरधनीलाई अनुदान रकम दिने, अनुदान सम्झौता सम्पन्न गर्ने र दर्ता भएका गुनासोको सुनुवाई गरिने बताउनुभयो ।

उहाँले अभियान सफल पार्न उपक्षेत्रीय कार्यालयहरुमा केन्द्रबाट आवश्यकता अनुसार थप जनशक्ति खटाइने बताउनुभयो । दलहरुबीच पछिल्लो समय डेढ लाख दिने सहमति भएपनि नयाँ कार्यविधी नबने सम्म पहिलो किस्तामा ५० हजार रुपैयाँ नै दिइने ज्ञवालीले बताउनुभयो ।

प्राधिकरणले अहिलेसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता गरेको छ भने सम्झौता गरेका ४९ हजार ७ सय ४९ घरधनीले मात्र पहिलो किस्ताको अनुदान पाएका छन् ।