Thaha

Saturday 20 April - 1:19 am NST

सरकारले दातृ निकायसँग रकम लिएर दुरुपयोग गर्ने गैरसरकारी संस्थालाई कारवाही गर्ने


काठमाण्डौं, असार १५ । सरकारले गैरसरकारी संस्थाहरुमाथि कडाई गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गैर सरकारी संस्थाहरुको कडाईका साथ अनुगमन तथा छानवीन गर्न सबै जिल्ला विकास समितिको कार्यालयहरुलाई लिखित निर्देशन दिएको छ ।

मन्त्रालयले आज जिविस कार्यालयहरुलाई पत्र पठाएर त्यस्ता गैरसरकारी संस्थाको शुक्ष्म अनुगमन र छानवीन गरी आवश्यक कारवाहीको व्यहोरासहितको प्रतिवेदन केन्द्रलाई पठाउन समेत नर्देशन दिएको छ । विभिन्न जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले एचआईभी—एड्सको रोगथाम, लागु पदार्थ दुब्र्यसनीहरुको उपचार, समलिङ्गीमा एचआईभी एड्स रोकथाम, संक्रमितहरुको हेरचाह, बसाई सराई जस्ता कार्यक्रम संचालन गर्न दातृ निकाय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट करोडौं रुपैंया रकम लिएर जथाभावि खर्च गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७२ मंसीरमा उजुरी परेको थियो ।

आयोगले त्यसमाथि छानवीन गरी यूएनडीपि, यूनिसेफ, ईन्टरनेश्नल ड्रग यूजर नेटवर्क लगायतका दातृ निकाय र आईएनजिओहरुसँग सम्झौता गरी नेपालका गैरसरकारी संस्थाहरुले रकम प्राप्त गरेको भन्दै यसबारे स्वास्थ्य मन्त्रालय, समाज कल्याण परिषद, जिल्ला प्रशासन, जिविस कार्यालयमार्फत अनुगमन, छानविन गरी आवश्यक कारवाही गर्न लेखी पठाउन भनेको मन्त्रालयले जनाएको छ । “त्यस्ता संस्थाहरुको सम्बन्धमा अनुगमन एवं छानविन गरी आवश्यक कारवाही गर्नुहुन र सो को प्रतिवेदन समेत पठाउनुहुन अनुरोध छ” मन्त्रालयका उपसचिव बन्दु प्रसाद वास्तोलाद्धारा हस्ताक्षरीत पत्रमा भनिएको  छ ।