Thaha

Saturday 27 April - 8:58 pm NST

डल्फिनको अनुसन्धान हुने


काठमाण्डौं, असार १२ । नेपालमा पाईने एकमात्र जलीय स्तनधारी प्राणी डल्फिनको संरक्षणका लागि संख्या र अवस्थाका बारेमा अनुसन्धान हुने भएको छ । नेपाल प्रकृति संरक्षण कोष र नेपाल जैविक विविधता अनुसन्धान समाजको आर्थिक सहयोगमा तथा डल्फिन संरक्षण केन्द्रको प्राविधिक सहयोगमा झण्डै ८० जना अनुसन्धानकर्ता सम्मिलित टोलीले अध्ययन गर्न थालेको हो । एक हप्तापछि अध्ययन शुरु गर्ने तयारी छ । बर्दिया र कैलालीको सीमा पर्ने कर्णाली नदी र त्यसका सहायक नदीहरुमा संख्या, बासस्थान तथा आहाराका विषयमा पहिलो पटक अध्ययन गर्न थालिएको कोषले जनाएको छ । वैज्ञानिक र अनुसन्धानकर्ताको टोलीलाई विभिन्न २० वटा समूहमा विभाजन गरेर अध्ययन गरिनेछ । टोलीले हरेक क्षेत्रमा बसेर डल्फिनको संख्या, अवस्था र उनीहरुका क्रियाकलापको अध्ययन गर्ने डाक्टर मुकेश चालिसेले जानकारी दिनुभयो ।  पहिले कोशी र नारायणी नदिमा समेत डल्फिन पाइएपनि अहिले कर्णाली नदि र त्यसका सहायक नदीहरुमा मात्र पाईन्छ ।

वर्षायाममा कर्णाली र त्यसका शाखा नदीमा झण्डै ३० वटा डल्फिन देखिने अनुमान गरिएको छ । डल्फिनलाई पृथ्वीमा रहेका केही धेरै वुद्धिमान जीव मध्यमा लिइन्छ । यसले मानिसले जस्तै ऐनामा आफूलाई पहिचान गर्ने, चालचलन सिक्ने, अरुमा सहानुभूति राख्ने, संकेतले कुराकानी गर्ने र मानिससंग नजिकिन मन पराउने गरेको छ । सधैं खुसी रहने बानी र मानिससंगको मित्रवत व्यवहारले मानिसको प्रिय जीवका रुपमा समेत परिचित छ ।