Thaha

Friday 26 April - 12:25 pm NST

आधुनिक मिल बढेसँगै ढिकीजाँतो लोप हुँदै


दिपक शर्मा 
सल्यान, असार ३, । सल्यानका ग्रामीण क्षेत्रमा आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि यहाँका परम्परागत ढिकी र जाँतो लोप हुँदै गएका छन् । आधुनिक विद्युतीय तथा डिजेलका मिलको स्थापनासँगै परम्परादेखि खाद्यान्न तथा कुटानी, पिसानी गर्न प्रयोग गर्ने ढिकी र जाँतो प्रयोगविहीन अवस्थामा रहेको ग्रामीण भेगमा देख्न पाइन्छ । विद्युतीय र डिजेलका मिल ग्रामीण भेगका टोलटोलमा स्थापित हुन थालेपछि अब ग्रामीण भेगमा पनि ढिकी र जाँतोको चलन हट्दै गएको कालिमाटी रामपुर गाउँ विकास समिति वडा न ३  सातविसेकी भीम कुमारी सापकोटाले जानकारी दिनु भयो । पहिले पहिले त ढिकी र जाँतोले कुटेपिसेको खाद्यान्न खान स्वादिलो हुन्थ्यो तर हिजोआज मानिसको आधुनिक विद्युतीय तथा डिजेलमा चल्ने मिलमा आकर्षण बढ्दै गएकाले ग्रामीण भेगमा पनि ढिकी र जाँतो लोप हुँदै गएको बताउँदै ढिकी र जाँतोमा कुटेको च्युरा, चामल खानु त सपना जस्तै भएको उहाँकोे भनाइ छ । रामपुर २ की जर्मनी थापालाई ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मीठो लाग्छ । उहाँले भन्नु भयो ‘‘ढिकीको चामल र जाँतोको पीठोजस्तो मिलमा पिसेको पीठो त्यत्ति स्वादिलो हुँदैन ।” ढिकी, जाँतोमा कुटे–पिँधेको खाद्यान्न खानाले मीठो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा हुने गरेको बुढापाका बताउँछन् ।

दसैं, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भएपनि पछिल्लो समयमा ढिकी जाँतो लोप हुदै गइरहेको थापाले बताउनु भयो ।  मन्दिरमा पूजाआजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीय तथा डिजेलका मिल खुलेपछि मानिसहरुले यसको खोजी गर्न समेत बिर्सेको उहाँले बताउनु भयो । ढिकी र जाँतो विगत एक दशकअघि सम्म सबैले आफ्नो घरघरमै राख्थे तर अहिले गाउँ–गाउँमा आधुनिक मिलको स्थापना भएपछि विस्थापित हुँदै गएको रामपुर २ की अस्मिता सिजालीले बताउनु भयो ।  गाउँमा तोरी पेल्ने कोलसमेत हटेर लोप हुँदै गएको देखिन्छ ।