Thaha

Saturday 20 April - 2:13 am NST

चुरे संरक्षण दिवस


काठमाण्डौं, असार २ । चुरे संरक्षण दिवस आज चुरे क्षेत्रलाई कसरी दीगो रुपमा संरक्षण गर्न सकिन्छ ? नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसबाहेक चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई , चुरे रहे पानी, पानी रहे हामी नाराका साथ वर्षैभरी चुरे संरक्षणमा जोड दिंदै कार्यक्रम हरु गरिंदै आएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य विदुर भारतीले जानकारी दिनुभयो ।

दिवसका अवसरमा आज चुरे क्षेत्र संरक्षण सम्बन्धि गुरुयोजनालाई अन्तिम रुप दिन सुझाव संकलन गर्ने गरी विज्ञहरु सहित छलफल गरिंदैछ । यस्तै चुरे क्षेत्रका ३६ जिल्लामा वृक्षारोपण तथा वन संरक्षणको मुख्य नारा सहित विभिन्न खालका सचेतनामूलक कार्यक्रम भैरहेका छन । महाभारत पर्वत श्रृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमाना बीचको होंचो डाँडा र पर्वत श्रृंखलालाई चुरे भनिन्छ । नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।

पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रुपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । पछिल्लो समय चुरेको वन विनाश , ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ । चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७÷२०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्चालन हुँदै आएको छ ।