Thaha

Wednesday 24 April - 11:28 am NST

आज विश्व रक्तदाता दिवस


काठमाडौं, ३२ जेठ । 
आज विश्व रक्तदाता दिवस । रक्तदान गरौं जीवन बाँडौं नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एशोशिएसनले बिहान बसन्तपुरबाट सचेतनामूलक ¥याली निकालेको छ भने दिउँसो रक्तदाताहरुलाई सम्मान गर्दैछ । दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।

नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेका छन् । नेपालमा पुरुष रक्तदाता ८६ दशमलव १ र महिला १३ दशमलव ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपनि केन्द्रिय रक्तसन्चार केन्द्रले सहयोग र समन्वय नगरेको स्वयंसेवी रक्तदाताले गुनासो गरेका छन् । गत वर्षको भुकम्पपछि भृकुटीमण्डपमा रहेको रक्तसन्चार केन्द्र ललितपुरको बालकुमारी सारेपछि थप समस्या भएको ब्लड डोनर्स एशोशिएसनका उपाध्यक्ष रमेश ध्वज बस्नेतले बताउनुभयो । केन्द्र पायक पर्ने ठाउँमा नभएको र केन्द्रको भवन आसपास सरसफाई नभएकाले रगत संकलनका लागि सुरक्षित नहुने भन्दै उहाँले तत्काल अन्यत्रै सार्नुपर्नेमा जोड दिनुभयो । रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएपनि रगतको सहज आपूर्ति हुन नसकेको, रगत किनबेच हुने गरेको र भनसुनको भरमा रगत पाउनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको बस्नेतको गुनासो छ ।