Thaha

Tuesday 03 December - 11:38 pm NST

सम्झनामा अम्बर गुरुङ

काठमाण्डौं, जेठ २५ । नेपालको राष्ट्रिय गान “सयौं थुंगा फूलका हामी, रातो र चन्द्र सूर्य, नौ लाख तारा उदाय” जस्ता गीतबाट गुरुङ्ग हरेक नेपालीको मनमा बस्न सफल अम्बर गुरुङ्गको जन्म विक्रम संवत १९९४ सालमा भारतको दार्जलिङको लालढिकीमा भएको  थियो । उहाँका बाबु उजिरसिंह गुरुङ ब्रिटिस ईन्डियन आर्मीका पूर्व सेना हुनुहुन्थ्यो । उजिरसिंहको ईच्छा थियो छोराले पनि सेनामा जागीर खाओस् तर, अम्बर गुरुङले गीत, संगीत र साहित्यबाट आफूलाई चिनाउनुभयो ।

गोरखाको रिसिङवाट बसाई सरेर उहाँका बुबा उजिरसिंह दार्जलिङ पुग्नुभएको थियो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । गुरुङ्ग काठमाडौंको चक्रपथमा बस्दै आउनुभएको थियो अम्बर गुरुङले दार्जलिङमै स्कुले शिक्षा लिनुभयो । कुनै वेला उहाँले नै दार्जलिङमा खोलेको संगीत स्कुलमा अरुणा लामा, कर्म योन्जन, जितेन्द्र बर्देवा, ईन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान लगायत आबद्ध थिए । उनीहरु विभिन्न सांगीतिक कार्यक्रम पनि गर्थे । दार्जी्लिङमै रहँदा शास्त्रीय संगीत र साहित्यको अध्ययनलाई अघि बढाएका उहाँले सन १९६२ देखि १९६५ सम्म पश्चिम बङ्गालको फोक इन्टरटेन्मेन्ट युनिटमा संगीत प्रमुखको जिम्मेवारी सम्हालेर  सन १९६७ मा ग्राहम्स होम्स कालिङपोङमा संगीत प्रशिक्षक  बन्नुभयो । 

अगमसिंह गिरीले रचना गरेको नौलाख तारा उदाए बोलको गीत जसमा उहाँले संगीत भर्नुभएको थियो र सन् १९६१ मा कोलकात्तामा रेकर्ड भएको थियो त्यसलाई नेपालको पक्षमा र भारतको विरुद्ध भनेर भारतमा बजाउन प्रतिबन्ध लगाइयो । भारतको सरकारी अल इन्डिया रेडियोले ’घरको माया बिर्सेर किन पो यहाँ आयौ नि’, ’मनको आगो निभाउन किन पो यहाँ आयौ नि’ जस्ता अर्थपूर्ण शब्द भएका कारण गीतलाई प्रतिबन्ध लगाएको थियो । पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाई ट्युनिङ गर्न सक्ने खुबी भएका एक मात्र संगीतकारलाई तत्कालीन राजा महेन्द्रले विक्रम संवत २०२६ सालमा बोलाएपछि नेपाल आएका उहाँले दार्जलिङ नफर्किने निर्णयमा गर्नुुभयो । 
सन् १९६१ देखि सन् २००६ सम्म विभिन्न पत्रिकामा उहाँका १ हजारभन्दा धेरै संगीतसंग सम्बन्धित लेख प्रकाशित भए । सन् १९६९ देखि ३० बर्षसम्म लगातार प्रज्ञा प्रतिष्ठानमा संगीत विभागको निर्देशक भएर काम गरेका उहाँ सन् २०१० मा  नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुभयो । 


स्टेजमा मञ्चित नाटक माधव प्रसाद घिमिरेको मालती मंगले, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र कुन्जिनीमा उहाँले नै संगीत दिनुभएको थियो भने सत्य मोहन जोशीको नाटक फर्केर हेर्दा, जब घाम लाग्छ र सपना ब्युँझन्छमा पनि उहाँले संगीत भर्नुभयो । चलचित्र मनको बांध र जीवनरेखा र बृत्तचित्र आदिकवि भानुभक्तको उहाँले पाश्र्वसंगीत दिनुभएको थियो । 

हिमालयन टोन्स म्युजिक एकेडमीले आयोजना गरेको ‘अम्बर गुरुङ रात्री’ मा आयोजकका तर्फवाट अम्बरलाई महासंगीतकारको उपाधि दिईएको थियो । २०२८ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित उहाँले बिस २०५४ सालमा जगदम्बाश्री पुरस्कार, इन्द्र राज्यलक्ष्मी, छिन्नलता गीति पुरस्कार लगायत दर्जनौ सम्मान पाउनुभयो भने लाईफटाइम एचीभमेन्ट अवार्ड मात्रै २० वढी संस्थाले दिएको छ । 


गुरुङको अक्षरका आवाजहरु, कहां गए ति दिनहरु, कैले लहर कहिले तरंग र सम्हालेर राख पुस्तक प्रकाशित छन् । उहाँका विभिन्न संस्मरण तथा निबन्धहरू समेत प्रकाशित छन् । । ’ए कान्छा, ठट्टैमा यो वैँस जान लाग्यो’ जस्ता रोमान्टिक गीतदेखि ’हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैँ फुटे..’ सम्मका वियोगान्त गीतमा उहाँले संगीत भर्नुभयो ।  “रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो” बोलको गीतले हरेक नेपालीमा देशप्रेम जगाउंछ र त नेपालका फुटबल र क्रिकेट खेलाडीहरु खेलअघि र पछि टिम भावना जगाउन सँधै यही गीत गाउँछन् ।
हिमाल झैँ अटल यो
झुकेन यो कहिले
लत्रेन यो कहिले
जंगी निशान हाम्रो
....हारेन शान हाम्रो
नेपाली सेनाले पनि यही गीतलाई सैन्य धुन बनाएको छ । यसैका रचयीता अम्बर गुरुङलाई नेपाली सेनाले पाँच वर्षअघि मानार्थ कर्णेल (महासेनानी) को उपाधि दिएको थियो ।  
भौतिक शरीरले संसार छाडेर गएपनि उहाँको आवाजले उहाँलाई अमर बनाईदिएको छ उहाँ सधैं गुनगुनाईरहनुहुनेछ नेपालीमाझ यसरी सदासदा ।
म दूर भएर के भो
अभिशाप छाएर के भो
यति रोए जिन्दगीमा
कि फेरि रोएर के भो