Thaha

Wednesday 24 April - 5:54 am NST

वरिष्ठ संगितकार तथा गायक अम्मर गुरुङको निधन, श्रृदान्जलीका लागि प्रज्ञाभवनमा ३ बजे सम्म राखिने


काठमाडौं, २५ जेठ । 
वरिष्ठ संगीतकार अम्बर गुरुङ्गको ७९ बर्षको उमेरमा निधन भएको छ । ग्राण्डि अस्पतालको सघन उपचार कक्षमा उपचाररत गुरुङको गएराति २ बजेर ३७ मिनेटमा निधन भएको हो । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सनको उपचार गराइरहनुभएका गुरुङलाई गएको हप्ता ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । गुरुङको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ । दिउँसो ३ बजेसम्म कमलादीमा राखिने र त्यसपछि बौद्ध  र हिन्दु दुवै परम्परा अनुसार गुरुङको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने प्राज्ञ श्रवण मुकारुङले जानकारी दिनुभयो ।

नेपाली सेनाका मानार्थ महासेनानी समेत रहेका गुरुङको अन्त्यष्टिमा सेनाले सम्मान गारथ अर्पण गर्ने जनाएको छ । सरकारले पनि सम्मान सहित अन्त्यष्टि गर्ने तयारी गरेको छ । विक्रम संवत १९९४ सालमा भारतको दार्जिलिङ्गमा जन्मिएका गुरुङ्गले नेपालको सांगितीक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपालको राष्ट्रिय गान सयौं थुंगा फूलका हामी, रातो र चन्द्र सूर्य, नौ लाख तारा उदाय जस्ता गीतबाट गुरुङ्ग हरेक नेपालीको मनमा बस्न सफल हुनुहुन्थ्यो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । दार्जलिङबाट नेपाल आएपछि नेपाल प्रज्ञा प्रतिष्ठानका संगीत निर्देशक बनेका गुरुङ्ग काठमाडौंको चक्रपथमा बस्दै आउनु भएको थियो ।

अगमसिंह गिरीले रचना गरेको नौलाख तारा उदाए बोलको गीत सन् १९६१मा कलकत्तामा रेकर्ड गराएपछि उहाँको गीतलाई नेपालको पक्षमा र भारतको विरुद्ध भनेर भारतमा बजाउन प्रतिबन्ध लगाइएको थियो । विक्रम संवत २०२६ सालमा तत्कालिन राजा महेन्द्रले गीत गाउनका लागि बोलाएपछि नेपाल आएका बेला उहाँले दार्जिलिङ्ग नफर्किने निर्णय लिनु भयो । विभिन्न एल्वम निकालेका गुरुङ्गले सयौं पुरस्कार प्राप्त गर्नुभयो । हजारौं गीतमा संगीत भरेका गुरुङ्गले सयौं गीतमा स्वर दिनु भएको छ ।