Thaha

Friday 19 April - 7:31 pm NST

ताप्लेजुङ पहिरोको उच्च जोखिममा


सिताराम गुरागाई, ताप्लेजुङ, २० जेठ । 
ताप्लेजुङ पहिरोको बढी जोखिमयुक्त जिल्ला रहेकोे एक अध्ययनले देखाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन नास्टले गरेको अध्ययन अनुसार ताप्लेजुङ पहिरोको उच्च सम्भावना भएको जिल्लामा परेको हो । जिल्लाको हाङ्देवा र चाक्सिोबोटे गाविसमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नास्टका अध्ययनकर्ता दीपक पौडेलले ताप्लेजुङ पहिरोको उच्च रहेको पाइएको बताउनुभयो । प्रतिवेदनका अनुसार २४ घण्टामा एक सय ४० मिलिमिटर वर्षा भएमा पहिरो जाने सम्भावना बढी हुन्छ । ताप्लेजुङमा न्युनतम् ४५ र अधिकतम् एक सय ४२ मिलिमिटरसम्म वर्षा हुने पाइएकाले जोखिम देखिएको हो ।

अध्ययनले पहिरोको उच्च जोखिम हुँदाहुँदै पनि ८० प्रतिशत स्थानीय बासिन्दा अन्यत्र जानलाई सुरक्षित ठाउँ नभएका कारण त्यही बस्दै आएको देखाएको छ । जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गरेको अध्ययनले पनि जिल्लाको एक नगरपालिकासहित ४८ गाविसमध्ये नगरपालिका र २३ वटा गाविस पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । अध्ययन प्रतिवेदनअनुसार ताप्लेजुङ नगरपालिकासहित याम्फुदिन, मामाङ्खे, सुरुम्खिम, कालीखोला, आंखोप, मेहेले, सिनाम, थुम्बेदिन, चाक्सिबोटे, नाङ्खोल्याङ, हाङ्देवालगायत गाविस पहिरोको उच्च जोखिममा छन् । यस्तै सावादिन, खोक्लिङ, लिबाङ, साँबा, फुरुम्बु, लिङ्खिम, ओलाङ्चुङगोला, लेलेप, तापेथोक, इखाबु, फूलबारी र निघुरादिन गाविस पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

यसैगरी हाङ्पाङ, थिङ्लाबु, लिङ्तेप, थुकिमा, नाल्बु, पापुङ, खेजेनिम, तिरिङ्गे, सिकैचा, डुम्रिसे, आम्बेगुदिन, पेदाङ, लिम्बुदिन, साव्लाखु, र सादेवा गरी १५ वटा गाविस मध्यम जोखिममा र बाँकी साँघु, ढुंगेसाघु, चाँगे, फाकुम्बा, सान्थाक्रा, खाम्लुङ, थेचम्बु, फावाखोला, तेल्लोक र खेबाङ गरी १० वटा गाविस न्यून जोखिममा रहेका प्रतिवेदनले देखाएको थियो । अधिकांश जमिन भिरालो तथा कमजोर भौगोलिक बनावट, जमिनको सही उपयोग नहुनु, वन जङ्गलको विनास, अव्यवस्थित बसोबास र पर्याप्त भौगोलिक अध्ययन बिना जथाभावि सडन निर्माण गरिनुले धेरै गाविस पहिरोको जोखिममा रहेको बताइएको छ ।