Thaha

Tuesday 07 May - 12:13 pm NST

अन्तराष्ट्रिय बौद्ध सम्मेलन काठमाण्डौंमा सुरु


काठमाडौं, ६ जेठ । 
२५ सय ६० औँ बुद्ध जयन्तीका अवसरमा आजदेखि काठमाण्डुमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । भोलीसम्म चल्ने सम्मेलनमा अहिले  विभिन्न देशका धर्मगुरुहरुले सम्बोधन गरीरहेका छन् । सम्मेलनमा २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता छ । ‘लुम्बिनी : नेपाल, भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ चल्ने सम्मेलनमा बौद्ध दर्शनसँग सम्बन्धित विदेशी र नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनको निष्कर्ष सहितको घोषणापत्र बुद्धजयन्ती मूल समारोहस्थल लुम्बिनीमा जारी गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सम्मेलन सकिएपछि पर्सी ८ गते बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको मूल समारोह लुम्बिनीमा गर्ने तयारी छ । लुम्बिनी विकास कोषले ८ गतेदेखि ११ गते सम्म बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको मावली देवदहको भवानीपुर र बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम, नवलपरासीमा कार्यक्रम गर्ने तयारी भएको जनाएको छ ।