Thaha

Saturday 04 May - 12:24 am NST

आज चैत दशैं पर्व मनाइँदै, तराईमा सिरुवा पर्व


काठमाण्डौं, २ बैशाख ।
चैते दशैं पर्व आज मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन हिन्दुधर्माबलम्बीहरुले चैतेदशैं पर्व मनाउने गर्दछन् । चैत शुक्ल प्रतिपदादेखि शक्तिस्वरुपा देवीको पूजाआराधना गरी ब्रत बस्ने र अष्टमीका दिन दशैं मनाउने चलन रहेको छ । नवरात्री पूजाको समापन संगै भोली रामनवमी पर्व मनाउने गरिन्छ । आज विभिन्न मन्दिरहरुमा देवीको पूजाआराधनासंगै बलि दिने चलन पनि रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नवरात्री पूजा र चैतमा पर्ने बासन्तिक नवरात्रीको बिधी र महत्व समान रहेको बताउनुभयो । आज काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत  देवीका शक्तिपीठमा पूजाआजाका लागि दर्शनार्थीको घुईंचो लागेको छ ।


यसैबिच तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै हिजोदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि हिजो शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल आज जल मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ । साथै घरका छेउछाउमा रहेका रूख तथा बोटबिरुवामा समेत शीतल जल छर्किने गरिन्छ ।

यसबाट शान्ति र शीतलतासमेत प्राप्त हुने विश्वास गरिन्छ । यस पर्वमा बरी, करहीलगायत विभिन्न परिकार बनाएर खाने चलन छ भने युवायुवतीले एकअर्कालाई हिलो छ्याप्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने गर्दछन् । सिरुवा पर्वको अवसरमा सरकारले आज तराईका झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक विदा दिएको छ ।