Thaha

Saturday 04 May - 1:03 am NST

तामाङ डाजाङको १ सय ५१ औं साहित्यिक कार्यक्रम सम्पन्न


काठमाण्डौं, २८ चैत । 
तामाङ डाजाङले सन्चालन गर्दै आएको साहित्यीक कार्यक्रम ग्योइकाइ गेताङको १ सय ५१ औं श्रृखला शनिबार सम्पन्न भएको छ । मानविकी क्याम्पस प्रदर्शनीमार्गमा भएको साहित्य वाचन कार्यक्रममा तामाङ भाषामा लेखिएका कविता, गित, गजल तथा तामाङ मौलिक गित प्रस्तुत भएका छन् । स्रास्टाहरु फूलकुमार बम्जन, आर्दश थिङ, राजन वाइबा, गोले केआर चालिसेली, अमिर योन्जन, टंकलाल दोङ, बमबहादुर बम्जन, सत्तरसिंह योन्जनलगायतले रचना सुनाएका थिए । तामाङ डाजाङले २०५९ सालदेखि हरेक महिनाको अन्तिम शनिबार नियमित साहित्य वाचन कार्यक्रम गर्दै आएको छ । 


यसैबिच तामाङ डाजाङले शनिबारै कथा लेखन सम्बन्धि गोष्ठि गरेको छ । एक दिने तामाङ कथा लेखन सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी काठमाडौंको टौदह स्थित केभिन रोहन इको फाउन्डेसनको हलमा सम्पन्न भएको हो । गोष्ठी तामाङ डाजाङको सल्लाहकार एवं काठमाण्डौं महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिं तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त गोष्ठीमा कथा के हो ? र कसरी लेख्ने भन्ने विषयमा उपन्यासकार युग पाठक र कथामा पात्र चयन र चरित्र निर्माण सम्बन्धी लेखक दिल पौडेलले प्रशिक्षण दिनुभएको थियो । 


प्रशिक्षणमा डाजाङका अध्यक्ष बुद्ध योन्जनसहित स्रस्टाहरु मुक्तान थेबा, सिर्जना गोले, सजना गोले, प्रेमलाल दोङ, कविराज काल्तान, अनिषा थिङ, सिर्जना पाख्रिन, लक्ष्मी रुम्बा, बुद्धराम थिङ, हिरामाया घिसिङ, चन्द्रमान बज्यु, सुजन गोलेलगायत सहभागी थिए । सहभागि मध्य चार जना स्रष्टाले तामाङ भाषामा कथा वाचन गरेका थिए । भने ति कथामाथि उपस्थित सबै जनाले आ–आफ्नो तर्फबाट सुझाब दिएका थिए । गोष्ठि तामाङ डाजाङका सल्लाहकार एवं भाषाशास्त्री अमृत योन्जन तामाङको अध्यक्षमा सम्पन्न भएको थियो । भने कार्यक्रमको समन्वय तामाङ डाजाङ मासिकका सम्पादक इन्द्र तामाङ, प्रशासक अर्जन ग्लन र बालसहित्यकार तथा पत्रकार नेत्र तामाङले गरेका थिए ।