आगलागीको मौसम भएकाले सचेत हुन गृहमन्त्रालयको आग्रह, वनजंगलमा नियतवस आगो लगाउनेलाई कारबाही गरिने
काठमाण्डौं, २८ चैत ।
सुख्खायाम र हावाहुरीको मौसम भएकाले छिटो आगलागी हुने र धनजनको क्षति हुने भएकाले सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ । अहिले केही वस्तुमा आगो सल्किने बित्तिकै ठूलो क्षेत्रमा फैलिने समस्या हुने भएकाले आम नागरिकले सचेतना अपनाउनु नै रोकथामको मुख्य उपाय भएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । वनजंगलमा चुरोटबिंडी खाएर फाल्ने, नियतबश आगो लगाउने र फोहर बाल्न आगो लगाउँदा आगलागी हुने गरेको देखिएको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोईरालाले बताउनुभयो । तिव्र गतिको हावाहुरी चल्ने मौसम भएकाले बनजंगलमा लागेको आगो पनि बस्ति तिर फैलिएर समस्या हुने भन्दै उहाँले चुरोट बिंडी खाएर बाँकी रहेको ठुटो निभाएर मात्रै फाल्न आग्रह गर्नुभएको छ ।
त्यस्तै वनजंगलमा राम्रो घाँस या पालुवा पलाउने भएकाले नियतबश आगो लगाउने गरिएको भन्दै प्रवक्ता कोईरालाले त्यस्तो काम गरेको फेला परे कारवाही गर्ने चेतावनी पनि दिनुभयो । तराई क्षेत्रमा भने घर वरपरको फोहर जलाउने, लामखुट्टे वा भुसुना धपाउन घुर बाल्ने गर्दा बढी आगलागी हुने गरेको पाईएको छ । यो बेलामा घर वरपर फोहर जलाउने नगरी खाल्टो खनेर गाड्न वा जलाउनै परे खाल्डोमा राखेर जलाउन र पुरै जलिसकेपछि पानी राखेर निभाउन वा पुर्न तथा घरआँगनमा घुर नबाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । यस्तै खाना पकाईसकेपछि आगो राम्रो संग निभाउन र घरमा प्रज्वलनशील पदार्थ सन्चय गरेर नराख्न पनि गृहप्रवक्ता कोईरालाले आग्रह गर्नुभयो ।