Thaha

Saturday 21 September - 11:13 am NST

एकिकृत पशु बधशाला बनाइने


काठमाण्डौं, २१ चैत । 
काठमाडौं उपत्यकामा मासु व्यवसायलाई व्यवस्थित बनाउन एकीकृत बधशालाको अवधारणा अघि सारिएको छ । छुट्टाछुट्टै र धेरै बधशाला हुँदा व्यवस्थित नहुने तथा अनुगमन र निरिक्षणमा पनि समस्या भएपछि एकीकृत पशु बधशाला निर्माण गर्न प्रयास भईरहेको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अहिले उपत्यकामा धेरै बधशाला भएकाले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयमा समेत अप्ठेरो भएकाले नयाँ अवधारणा अघि सारिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले बताउनुभयो । त्यसका लागि कुनै ठूलो क्षेत्रफलमा, डेढ÷दुई सय मासु पसललाई केन्द्रित गरी एउटा बधशाला बनाईने छ ।

यसले बध गर्ने पशुको स्वास्थ्य जाँच, बधशालाको स्वच्छता अनुगमन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनमा पनि सहज हुने अपेक्षा गरिएको छ । एकीकृत पशु बधशाला निर्माणका लागि अनुकूलता हेरी सार्वजनिक जग्गा उपलब्ध गराउने वा नीजि जग्गा लिजमा लिने भन्ने निर्णय गरिने पौडेलले बताउनुभयो । काठमाडौंमा वधशाला व्यवस्थित हुन नसक्दा उपभोक्ताले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाएका छैनन् । मासु व्यवसायलाई व्यवस्थित बनाउन सरकारले पशु बधशाला तथा मासु जाँच ऐनलाई संसोधन गर्न लागेको छ ।