Thaha

Saturday 18 May - 8:22 am NST

विश्वका खुशी राष्ट्रको सूचीमा नेपाल १ सय ७ औं स्थानमा, अघिल्लो वर्ष भन्दा १४ स्थान माथि


काठमण्डौं, ४ चैत ।
विश्वका खुशी राष्ट्रहरुको सूचीमा नेपाल १ सय ७ औं स्थानमा परेको छ । संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार नेपाल खुशी राष्ट्रको सूचीमा अघिल्लो वर्ष भन्दा १४ स्थान माथि उक्लिएको हो । अघिल्लो वर्षको वल्र्ड ह्याप्पिनेश रिपोर्ट अनुसार नेपाल १ सय २१ औं स्थानमा रहेको थियो ।

 

यो वर्ष नेपाल संगै श्रीलंकाको स्थितीमा पनि गएको वर्ष भन्दा सुधार देखिएको छ भने भारत, पाकिस्तान भूटान, बंगलादेश र अफगानिस्तानको स्थिती खस्किएको छ । दक्षिण एशियाली राष्ट्रहरु मध्ये नेपाल तेश्रो स्थानमा परेको छ । पहिलो स्थानमा भुटान र दोश्रो स्थानमा पाकिस्तान रहेका छन् । कूल १ सय ५७ राष्ट्रको सूचीमा भने भूटान ८४ औं, पाकिस्तान ९२औं, बंगलादेश १ सय १० औं, श्रीलंका १ सय १७औं, भारत १ सय १८औं र अफगानिस्तान १ सय ५४औं स्थानमा रहेका छन् ।

 

दक्षिण एशियाली देश मालदिभ्स भने सूचीमा समावेश छैन । प्रतिवेदनमा यो वर्ष दक्षिण एशियाली क्षेत्रको अवस्थालाई गएको वर्ष भन्दा खस्किएको अवस्थाका रुपमा उल्लेख गरिएको छ । कुल गाहस्र्थ उत्पादन, प्रतिव्यक्ति आय, पारिवारिक सम्बन्ध, रोजगारीको सुरक्षा, स्वस्थ जीवन, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचारको अवस्था लगायतका आधारमा देशहरुको खुशीको अवस्थामा मापन गरिएको हो ।