Thaha

Sunday 24 November - 11:30 am NST

युवतीले लुटिन् दश तोला सुन र मोबाईल

म्याग्दी, २ चैत ।

खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् । 

सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन लगायत सामान लुटिएको पीडितले बताएका छन् । 

खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाएको चेन लुटेर युवती फरार युवती फरार भएकी जुक्जालीले बताए । पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए ।

लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई तीन दिन फोनमा कुरा भएको थियो । 

कपाल खैरो पारिएको, सेतो प्यान्टस् र सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ । 

अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताउनुभयो ।  रासस