Thaha

Sunday 24 November - 11:42 am NST

विधवा बुहारीलाई कन्यदान गर्ने सासु–ससुरालाई नागरिक अभिनन्दन


गुल्मि, २८ फागुन । 
बिधवा बुहारीलाई छोरीलाई जस्तैगरी कन्यादान गरेर धुमधाम बिबाह गराई दिएका गुल्मिका एक दम्पतीलाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउदेश्य सहरकारीलगायत जिल्लाका सात वटा संस्थाले तम्घास बाघमारेकी लक्ष्मी नेपाली र उहाँको श्रीमान इश्वरीलाई नागरिक अभिनन्दन गरेको हो । 


छोराको मृत्युपछि बुहारीको उज्वल भविष्यको लागि कन्यादान गरी नेपाली दम्पतीले धुमधाम दोस्रो विवाह गराइ दिनु भएको थियो । सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गर्नुभयो । छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्य प्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी सासु लक्ष्मी नेपालीले बताउनु भयो । 


कार्यक्रममा बुहारी उषा नेपालीले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको बताउनुभयो । चार वर्ष पहिले सासुससुराले कन्यदान गरेको उषाको अहिले एक छोरा भइसकेको छ ।