Thaha

Saturday 21 September - 11:35 am NST

आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा अर्चना गरी मनाइँदै


काठमण्डौं, २४ फागुन । 
आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो । मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । आज द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने काठमाण्डौंको पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । 

 

पशुपतिमा दर्शनार्थीको रातिदेखि नै भिड लागेको छ । पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई पशुपति परिसरमा पुगेको आधा घण्टा देखि ४५ मिनेट भित्रै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाईएको दावि गरेको छ । बाहिर लाईन बस्नु पर्ने समयको टुंगो नहुने भएपनि पशुपति मन्दिर परिसर भित्र प्रवेश गरेको बढीमा ४५ मिनेट भित्र पूजा तथा दर्शन गरेर फर्किन सक्ने कोषले जनाएको छ । मन्दिरका चारवटै ढोका खोलि खोलिएको छ ।  एक हजार रुपैंयाको सशुल्क र विशेष पूजाका लागि भने छुट्टै व्यवस्था गरिएको छ ।  बिहानमा साढे ३ सय र बेलुका डेढ सय गरी पाँच सय जनाले विशेष पूजा गर्ने कोषका सदस्य सचिव गोविन्द  टण्डनले जानकारी दिनुभयोे । उहाँका अनुसार महाशिवरात्री मेलाको विशेष आकर्षण बनकाली क्षेत्रमा राखिएको गणेशको १८ फूट अग्लो मूर्ति, अमरनाथको मनोरन्जनात्मक गुफा र शिवरात्री बजार रहेको छ । यस्तै पशुपतिनाथ मन्दिरमा चढाईएका सामाग्रीहरुको बिक्रीका लागि पश्चिमी ढोकामा राखिएको पसल पनि आजदेखि खोलिएको छ । शिवरात्री मेलाका लागि एक सिफ्टमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरीका ३८ सय, राष्ट्रिय अनुसन्धानका ५ सय खटिएका छन् । लाम ब्यवस्थापनका लागि विभिन्न क्लब तथा धार्मिक संघसंस्थाले पनि स्वयंसेवक परिचालन गरेका छन् । 

यसैबिच दर्शनार्थीको भीड लागेपछि प्रहरीले पशुपति आसपासको सडकमा बिहानैदेखि यातायात चल्न दिएको छैन । बिहान ४ बजेदेखि नै पुरानो बानेश्वर, गौशाला, जयवागेश्वरी, मित्रपार्क, पिंगलास्थान लगायतका सडकमा सवारी रोक लगाइएको छ । ट्राफिक प्रहरीले त्यस क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पैदलयात्रीलाई भने आवत जावतमा रोक लगाइएको छैन । यस्तै जिल्ला प्रशासन कार्यलय काठमण्डौंले महाशिवरात्रीको मेलामा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पर्दाथ बेचबिखन र सेवनमा रोक लगाएको छ । पशुपति क्षेत्रको चार किल्लामा मदिरा, गाँजा, भाङ, धतुरो तथा नशालु पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाइएको हो । गौशाला मित्रपार्क सडकदेखि पुर्व, पशुपति क्षेत्रको पुर्व सिमानादेखि पश्चि तथा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुदै बागमती नदी दक्षिण सम्म मदिरा तथा नशालु पर्दाथ सेवन, बेचबिखन तथा ओसार पसारमा निषेध गरिएको हो । मेला अविधी र अन्य समयमा पनि पुर्ण रुपमा रोक लगाइएको र उलंघन गरेमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।