Thaha

Monday 25 November - 9:51 am NST

एसएलसीमा छ लाख १२ हजार सहभागी हुने

काठमाडौं, २१ । एसएलसी परीक्षाको तयारी पूरा भएको छ । चैत २० गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत हिजोदेखि सकिएको र प्रश्नपत्र समेत जिल्ला पठाएको उहाँले जानकारी दिनुभयो । 
परीक्षा नियन्त्रक काप्रीले बागमतीका, दोलखा, सिन्धुपाल्चोक लगायत १० जिल्लामा प्रश्नपत्र पठाउन बाँकी रहेको र छिट्टै पठाउने बताउनुभयो । उहाँका अनुसार परीक्षामा यसवर्ष छ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी छ लाख १२ हजार तथा प्राविधिक तर्फ तीन हजार विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् । एसएलसी परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 
एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ ।