Thaha

Sunday 02 June - 11:23 am NST

आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी कार्यक्रम शुरु


काठमण्डौं, १६ फागुन ।
सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा चितवन र कास्कीका १० वर्षका १५ हजार बालिकालाई निःशुल्क खोप दिईने लक्ष्य राखिएको बालस्वास्थ्य महाशाखाको खोप शाखाका प्रमुख मुकुन्द गौतमले बताउनुभयो । खोप प्रदान गर्न हरेक वार्डमा नजिकका विद्यालयसंग समन्वय गरि विद्यालयमा आधारित खोप केन्द्र बनाईने छ । खोप दिनका लागि ६ कक्षामा पढ्ने बालिका हुनुपर्ने तय गरिएको छ । एचपीभी खोप ९ देखि १३ वर्षको उमेर सम्मका बालिकालाई दिन सकिने भएकाले नेपाली परिवेश अनुसार १० वर्षका बालिका ६ कक्षामा पढ्छन् भन्ने मान्यता अनुसार ६ कक्षामा पढ्ने बालिकालाई खोप दिन लागिएको खोप शाखा प्रमुख गौतमले बताउनुभयो ।

उहाँका अनुसार यो खोप दुई पटक लगाउनुपर्छ । पहिलो खोप लगाएको ६ महिनापछि दोस्रो लगाउनु पर्ने भएकाले पहिलो खोप दिईसकेपछि बालिकालाई खोप मिति सहितको परिचयपत्र उपलब्ध गराईनेछ । चितवन र कास्कीमा सन्चालन भएको कार्यक्रमको प्रभाव, लागत लगायतको अध्ययन गरेर बाँकी जिल्लामा पनि खोप अभियान चलाईने गौतमले बताउनुभयो । नेपालमा पहिलो पटक दिइन लागेको यो खोप एक डोजको १० हजार रुपैयाँ पर्छ । नेपालमा हरेक वर्ष १० हजार भन्दा धेरैलाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । त्यसमध्ये बेलैमा उपचार नपाउँदा ५० प्रतिशतको ज्यान जाने गरेको तथ्यांक छ ।