Thaha

Friday 22 November - 4:00 pm NST

म्याग्दीको नारच्याङमा सुख्खा पहिरो जाँदा पाँचजना बेपत्ता / धुलोका कारण खोजी र उद्धारमा समस्या

काठमाडौं, ११ फागुन । म्याग्दीको नारच्याङ गाविस–१मा पर्ने अन्नपूर्ण साउथ हिमालको फेदीमा ठूलो सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङका लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, हुकुम पुन र टरबहादुर फगामी सम्र्पकविहीन भएका छन् ।
सोमबारराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलोले हिँडड्डुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा गन्तव्यमा पुग्न नसकेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । सम्पर्कविहीन पाँचैजना सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जङ्गल गएका थिए । टेलिफोन सम्पर्क नहुने, खोँच र धुलोका कारण उनीहरुको खोजी तथा पहिरोको अध्ययनका लागि गएको स्थानीयवासी र सुरक्षाकर्मीको टोली समस्यामा परेको प्रहरी प्रमुख खड्काले बताउनुभयो । 
सीमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङस्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिँडेको टोली निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको बाँधमा पुगेर रोकिएको छ । रातिदेखि निरन्तर पहिरो गइरहेको र धुलोले केही पनि देख्न नसकिने अवस्था रहेको नारच्याङस्थित प्रभा माविका प्रधानाध्यापक तेजबहादुर गुरुङले बताउनुभयो । धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । घलेम्दी जलविद्युत् आयोजनाका कामदार राति नै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् ।