Thaha

Saturday 21 September - 3:40 pm NST

भारतबाट इन्धन भित्रिन सुरु / मितेरी पुलबाट मोर्चाका कार्यकर्ता लखेटिए

काठमाडौं, २३ माघ । वीरगन्ज नाकाबाट शनिबारदेखि पेट्रोलियम पदार्थ नेपाल भित्रिन थालेको छ । आज ४ वटा ग्यास बुलेट भित्रिएको पर्सा जिल्लाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । अरु गाडी र मालबाहक ट्रक पनि बिना अवरोध आवतजावत भइरहेका छन् । शुक्रबार नाका खुलेपछि ५ सय भन्दा बढी गाडी नेपाल भित्रिएका प्रहरीको भनाई छ । अन्य इन्धनका गाडी पनि भित्रिने प्रहरीको अपेक्षा छ । शनिबारै बिहान इन्धन लिन भारतमा  दश वटा ट्याङकर भने फर्किन बाँकी रहेको उहाँले बताउनुभयो । 
स्थानीय बासिन्दा र व्यवसायीको दबाबमा शुक्रबारदेखि पर्साको नेपाल भारत सीमानाकाको अवरोध हटेको थियो । नाकाबाट आन्दोलनकारी मोर्चाका कार्यकर्ता हटेपछि शुक्रबारदेखि मालवहाक गाडी आवतजावत भैरहेका छन । नाका अवरोध हटेपछि बिहानैदेखि त्यहाँ चहल पहल बढेको छ । पहिलेकै अवस्थामा नाका संचालनका लागि अझै दुई तीन हप्ता लाग्नसक्ने वीरगंज भन्सार कार्यालयले जनाएको छ । 
यसैबीच, पर्साको वीरगंज नाका अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय बासिन्दा र व्यवसायीले लखेटेका छन् । मोर्चाको बारा र पर्साको बैठकले फेरि नाका अवरोध गर्ने निर्णय अनुसार अवरोधका लागि मितेरी पुल पुगेका मोर्चाका नेता कार्यकर्ता स्थानीय र व्यवसायीको प्रतिकारमा परेका हुन । मोर्चाले नाका अवरोध गर्ने निर्णय गरेसंगै दिउँसो दुईबजे मोर्चाका नेता कार्यकर्ता मितेरी पुल पुगेको र स्थानीयबासी तथा व्यवसायीको प्रतिकारपछि उनीहरु भागेको प्रशासनले जनाएको छ । केहीबेर स्थानीय व्यापारी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा १ जना घाइते भएका छन् । अहिले अवस्था सामान्य छ ।