Thaha

Saturday 21 September - 3:39 pm NST

आगलागीमा परि दुई जनाको मृत्यु


काठमाडौं, १८ माघ । आगलागिमा परी आज बिहान २ जनाको मृत्यु भएको छ । झापाको घेराबारी– ६ मिलडाँडाका ५० वर्षीय चन्द्रबहादुर रुम्बाको छिमेकी फूलमाया मेचेको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । मादक पदार्थ सेवन गरेका रुम्बाको अगेनामा बालेको आगो ताप्ने क्रममा घोप्टिएर लडेपछि जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिनुभयो । यस्तै आगोमा जलेर मोरङको सिजुवामा प्रहरी हवल्दारको मृत्यु भएको छ । इलामको जौबारी प्रहरी चौकीमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार रामचन्द्र ताजपुरिया सिजुवा १ मा रहेको घरमा सुतिरहेको अवस्थामा आगो लाग्दा जलेर घाइते हुनुभएकोमा उपचारका क्रममा मृत्यु भएको हो । ताजपुरियाको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।