Thaha

Saturday 21 September - 3:13 pm NST

सहिद दिवस मनाइँदै / एकताबद्ध हुन राष्ट्रप्रमुखको आह्वान

काठमाडौं, १६ माघ । देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै शनिबार देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । 
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइन्छ । विक्रम संवत्  १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 
सहिद सप्ताहअन्तर्गत शनिबार अन्तिम दिन प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा मन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाली सेनाका प्रधानसेनापति, राज्यका उच्च पदाधिकारी एवम् प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थित रहेको थियो । यसैबीच, शहिद दिवसको अवसरमा सन्देश दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ । त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संविधानसभाबाट प्राप्त नयाँ संविधानले संस्थागत गरेको बताउनुभएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ । सहिद दिवसका अवसरमा दिनु भएकोे सन्देशमा प्रधानमन्त्री ओलीले माघ ९ गते संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको उल्लेख गर्नुभएको छ ।