नेपाल भ्रष्टाचार निवारण असफल बन्दै
नेपालमा भ्रष्टाचार बढ्दै गएको पाईएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार निवारण गर्न सफल मुलुकहरुको सुचीमा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । सन् २०१५ मा भ्रष्टाचार निवारणमा नेपाल १ सय ३० स्थानमा परेको छ ।
सन् २०१३ मा १ सय १६ स्थानमा उक्लिएको नेपाल पछिल्ला वर्षहरुमा तल झर्दै गएको छ । सन् २०१४ मा भ्रष्टाचार निवारण गर्नेहरुको सूचीमा १ सय २६ औं स्थानमा रहेको नेपाल २०१५ सम्ममा आईपुग्दा अझ खस्किएर १ सय ३० स्थानमा झरेको छ । नेपालजस्तै क्यामरुन, ईरान, पाराग्वे, युक्रेनपनि १ सय ३० औं नम्बरमा परेका छन् ।
एशियाली मुलुकहरुमध्ये सबैभन्दा अगाडी रहंदै भुटान २७ औं स्थानमा परेको छ भने छिमेकी मुलुक भारत ७६, चीन ८३, स्थानमा रहंदा पाकिस्तान १ सय १७, अफगानीस्तान १ सय ६६, बंग्लादेश १ सय ३९ र श्रीलङ्का ८३ औं नम्बरमा सुचीकृत भएका छन् ।
सवैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सुचिकृत सोमालिया १ सय ६७ स्थानमा पुगेको छ भने सोही स्थानमा उत्तर कोरीया रहेको छ ।
युरोपेली मुलुक डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलुकमा परेको छ । फिनल्याण्ड, स्वीडेन, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, सिंगापुर, क्यानडा र जर्मनी क्रमशः दोस्रो देखी दशौं स्थानमा परेका छन् ।