Thaha

Saturday 21 September - 3:44 pm NST

आजदेखि स्वस्थानी ब्रत आरम्भ


काठमाडौं, ९ माघ । आजदेखि स्वस्थानी ब्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् । पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले आज चतुर्दशी उपरान्त पूर्णिमा तिथि भएकाले आजैदेखि ब्रत आरम्भ भएको बताउनु भयो । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।  स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए पनि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । आजैदेखि एक महिनासम्म काठमाडौंको सांखुमा रहेको शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।