Thaha

Saturday 19 April - 6:27 pm NST

दलित एकताले बाँड्यो न्यानो कपडा

दोलखा, १ माघ । मेलुङ–८ दोलखाका मोटे कामी विहीबार निकै खुसी थिए । कारण तर  उनको हातमा एउटा म्याटेस र एक थान ब्ल्यान्केट थियो । ‘जस्ताबाट साह्रै चिसो आउँछ । भूकम्प आउने होकी भन्ने डर हराउन थालेको थियो तर जाडो लागेपछि फेरी ठिर्हाउन थाल्यो,’ हसिलो अनुहारमा ब्ल्याङ्केट उचाल्दै मोटेले भने, ‘आजदेखि जहान (श्रीमतीले) राम्ररी सुत्ने भई, यो दिने बाबुहरुलाई मेरो आशिस लागोस् ।’ वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा विहीबार मेलुङ ८ स्थित ८२ घर धूरीमा न्यानो वितरण गरिएपछि मोटे मात्रै होइन त्यहाँका स्थानिय निकै खुसी थिए । 
अमेरिकामा रहेका नेपालीहरुको सामाजिक संस्था नासो, हङकङमा रहेका नेपालीहरुको संगठन ग्लोबल फोरम, साउदीमा रोजगारीको शिलशिलामा रहेका, राम रसाइली, निर्दोश वि.क, हरि परियार, रमेश बोहोरा, कुवेतमा कार्यरत, रोजन भुसाल र क्यानडामा कार्यरत तेन्जिङ लिम्बुले लगायतले आर्थिक सहयोग पठाएका थिए । उनीहरुले पठाएको रकमबाट दलित एकता समाज नेपालले कम्बल तथा म्याटेस खरिद गरेर मेलुङ पुर्याइ वितरण गरेको थियो ।
दलित एकता समाज नेपालकी महासचिव सरु सुनारले लगायतले न्यानो वितरण गरेका थिए । ‘विनासकारी भूकम्पपछि हामी निकै संकटमा थियौं । त्यो सँगै बढेको चिसोले कयौंको मृत्यु पनि भयो । यस्तो समाचार सुनेर सुनेर विदेशमा रहेका नेपालीहरुले आफ्नो पसिनाको मुल्य यहाँ पठाउनुभएको हो,’ सरुले भनिन्, ‘हामीले उहाँहरुलाई विशेष धन्यवाद दिनुपर्छ, जसले आफ्नो पसिनाको मुल्य छुट्याएर यहाँको नेपालीको अनुहार खुसी बनाउने प्रयास गर्नुभएको छ ।’
सरकारले घोषणा गरेको न्यानो बापतको रकम मेलुङ ८ मा पुग्न सकेको छैन । ‘हाम्रो वडामा सरकारले दिने भनेको न्यानो बापतको रकम अहिलेसम्म आएको छैन,’ सुन्तली नेपालीले भनिन्, ‘सरकारले हेला गरेपनि नेपाली दाजुभाइले मायाँ गर्नुभयो । यो न्याना वितरणबाट हामी निकै खुसी छौं ।’