Thaha

Saturday 21 September - 5:26 pm NST

माघि र माघे संक्रान्ति मनाइदै


काठमण्डौं, १ माघ । 
माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।  माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ । 

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ । माघिको अवसरमा काठमण्डौंमा बस्ने थारुहरुले आज टुँडिखेलमा सामुहिक कार्यक्रम गर्दैछन् ।

यस्तै मगर समदायले पनि आज माघे सकराति मनाउँदैछन् । काठमण्डौंको टुँडिखेलमा विभिन्न मगर संघसंस्थाहरुले सामुहिक खानपिन र नाचगानलगायतका कार्यक्रम आज दिउँसो गर्दैछन् । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको मगर संघ नेपालले जनाएको छ ।  


यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहेर यस पर्वलाई मनाउने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै यस्ता पर्वका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रहिआएको बताउँदै सरकारले २०६४ सालमा यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरिसकेको स्मरण गराउनुभएको छ । माघी र मकर संक्रान्तिका अवसरमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।