Thaha

Saturday 21 September - 5:35 pm NST

१ करोड ६९ लाख नेपाली नागरिक इन्टरनेटको पहुँचमा

काठमण्डौं, २७ पुस । 
नेपालका १ करोड ६९ लाख नागरिक इन्टरनेटको पहुँचमा पुगेका छन् । अन्तर्राष्ट्रिय एक अध्ययन अनुसार सन् २०१५ को डिसेम्बरसम्ममा नेपालका १ करोड ६९ लाख नागरिकमा इन्टरनेटको पहुँच पुगेको देखिएको हो । प्रतिशतका हिसाबले इन्टरनेटको प्रयोग गर्नेमा नेपाल भारत भन्दा पनि अगाडी देखिएको छ । भारतमा ३३ दशमलब २२ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन् भने नेपालमा ४० दशमलब ३० प्रतिशत नागरिकले इन्टरनेटको प्रयोग गरेका छन् । इन्टरनेट सोसाईटी लगायतका विभिन्न सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्थाहरुको पहलमा भएको अध्ययनमा इन्टरनेट प्रयोग गर्ने संसारका धेरै देश मध्य नेपाल ४१ औं स्थानमा परेको छ । तर प्रतिशतका हिसाबले नेपाल ६२ औं स्थानमा छ ।

नेपालमा हरेक वर्ष ९ प्रतिशतका हिसाबले इन्टरनेट प्रयोग कर्ता बढेका छन् । तर विक्रम संवत २०६८ सालको जनगणना अनुसार नेपालमा कूल जनसंख्याको जम्मा ३ दशमलब ३३ प्रतिशत नागरिक मात्र इन्टरनेटको पहुँचमा पुगेको देखिएको छ । सबैभन्दा धेरै व्यक्तिका हिसाबले चीन सबैभन्दा अगाडी छ । त्यहाँ ६६ करोड ८१ लाख नागरिकको पहुँचमा इन्टरनेट पुगेको छ । यो संख्या कुल जनसंख्याको ४८ दशमलब ८० प्रतिशत हो । भारत दोस्रो स्थानमा छ । भारतमा ४० करोड ६० लाख नागरिकले इन्टरनेट प्रयोग गरिरहेका छन ।  आइस्ल्याण्डका नागरिकमा सबैभन्दा धेरै इन्टरनेटको पहुँच पुगेको छ  ।

त्यहाँ ९६ दशमलब ५५ प्रतिशत नागरिकले इन्टरनेटको प्रयोग गर्ने गरेका छन । इरेट्ट्रीया सबैभन्दा कम इन्टरनेट प्रयोग गर्ने देश बनेको छ । त्यहाँ कुल जनसंख्याको सून्य दशमलब ९ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।