Thaha

Saturday 21 September - 5:37 pm NST

हिमपात भएको क्षेत्रमा सरकारी टोली परिचालन


काठमण्डौं, २६ पुस । 
हिमपात भएका भुकम्प प्रभावित जिल्लाका स्थानीयको उद्धार तथा अवस्था बुझ्न सरकारले सरकारी टोली पठाएको छ । गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालको नेतृत्वमा टोली गोरखाको बारपाक र लाप्राकतर्फ गएको गृहमन्त्रालय विपत ब्यवस्थापन महाशाखाका सहप्रबक्ता केशव आचार्यले जानकारी दिनुभयो । सरकारी टोलीले ती क्षेत्रका स्थानीयलाई लत्ताकपडा, खाद्यान्न वितरण गर्नुको साथै बिरामीको उद्धार गरी काठमाण्डौ ल्याउने बताइएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले तत्काल गोरखालगायत जिल्लाका हिमपात भएको क्षेत्रमा टोलि खटाउने निर्णय गरेको थियो ।

खास गरी गोरखाको बारपाक र लाप्राक इलाकामा हिमपात र चिसोबाट प्रभावितको वस्तुस्थिति बुझ्न नेपाली सेनाका हेलिकप्टरमार्फत रक्षा र गृहमन्त्रालयबाट औषधिसहितको चिकित्सक टोली गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमपातले समस्यामा परेका गोरखाका ६ गाविसका भुकम्प पीडितलाई तत्काल राहात उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । गोरखाको लाप्राक, बारपाक, घ्याच्चोकलगायतका भुमक्प प्रभावित क्षेत्रमा असिना पानी र बाक्लो हिउँले जनजीवन निक्कै कष्टकर भएपछि प्रधानमन्त्रीले तत्काल राहात वितरण गर्न भन्नुभएको हो ।