Thaha

Saturday 21 September - 6:22 pm NST

आज पोशाक र टोपी दिवस


काठमण्डौं, १७ पुस । 
तेस्रो नेपाली पोसाक दिवस आज विभिन्न कार्यक्रम गरेर मनाईदै छ । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै नेपाली पोसाक दिवस–२०७२ मनाउन लागिएको हो । श्रद्धावान् नेपाल नामक संस्थाले विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवस मनाउँदै आएको छ । विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले अंग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवसका रुपमा मनाउन लागेको संस्थाका अध्यक्ष स्वामी राजानन्दले बताउनु भयो ।

नेपालमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाति र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि दिवस मनाउन लागिएको उहाँले बताउनु भयो । दिवसका अवसरमा दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विभिन्न झाँकी निकाल्ने तयारी छ । 


यसैबिच आज विभिन्न कार्यक्रमगरी नेपाली टोपी दिवस मनाइदैछ ।  अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउँन थालिएको आयोजकले जनाएको छ । दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गरिएको छ ।

अभियानका संयोजक डाक्टर लेखनाथ काफ्लेले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन भैरहेकोले अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिन्ह नेपाली टोपी भएको बताउनु भयो । दिवसको अवसरमा आज काठमण्डौंमा टोपी सहितको प्रदर्शन भएको छ । माइतीघर मण्डालाबाट बसन्तपुर सम्म प्रदर्शन भएको हो ।