Thaha

Saturday 21 September - 6:13 pm NST

सिन्धुपाल्चोकको ठोकर्पा पहरीवस्तिमा चिसोले ६ जना भुकम्पपिडतको मृत्यु, पिडितलाई मण्डलाको न्यानो


काठमण्डौं, १६ पुस । 
गत बैशाख १२ गते गएको भुकम्पले सबैभन्दा बढि प्रभावित जिल्ला सिन्धुपाल्चोकका भुकम्प पिडितहरु यत्तिखेर चिसोमा कष्टकर जीवन बिताइरहेका छन् । पौष महिनाको चिसोमा जस्ताको टहरा र पालमा बसेका भुकम्पपिडितहरु कतिको कठ्याङग्रिएर ज्यान नै गएको छ । दिनप्रतिदिन चिसोले भुकम्पपपितहरुको मृत्यु भएको समाचारहरु आइरहेका छन् । सिन्धुपाल्चोकको ठोकर्पा गा.बि.स.मा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । गाबिसको वडा नं. ३ पहरी बस्तीमा मात्र ६ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका बढि छन् । पहरी वस्तिमा चिसोले भुकम्प पिडितहरुको मृत्यु भइरहँदा सरकार भने बेखबर जस्तै छ । 


यसैबिच सुरक्षित बास र न्यानोको अभावमा चिसोले आफन्त गुमाएका परिवारलाई मण्डालाले न्यानो बाँडेको छ । मण्डला अर्गनाइजेसन (बिपद् सहयोग प्रतिष्ठान नेपाल) ले पिडितहरुलाई एक–एक ओटा ब्लान्केट र ज्याकेट बितरण गरेको छ ।  साठ्ठी बर्षभन्दा माथिको वृद्धवृद्धा र अपाङ्ग गरि जम्मा ४६ जनालाई न्यानो बाँडेको मण्डलाका अध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिनुभयो । ९७ घरधुरी रहेको पहरी बस्तीमा सबै घरधुरीलाई बितरण गर्ने चाहना हँुदाहुदै पनि तत्काल सम्भव नभएकोले वृद्धवृद्धा र अपाङ्गलाई मात्र बितरण गरेको र सम्भव भएसम्मा चाडै प्रत्येक घरधुरीलाई बितरण गरिने अध्यक्ष थापाले बताउनुभयो ।

जाडोका कारण मृत्यु भएको समाचार आएलगतै बस्तिमा अध्ययनका लागि मण्डलाको टोली पठाएर अध्ययन गरेको र त्यसको दुइदिनपछि नै न्यानोका लागि राहात सामग्री बितरण गरेको मण्डालाका महासचिव मिलन तामाङले जानकारी दिनुभयो । पुरै गाउँ र हरेक घरमा अध्ययन गर्दा चिसोले धेरै बिरामी परेकाले मृत्युको संख्या अझै बढ्न सक्ने अवस्था रहेको तत्काल सरकारको ध्यान पुग्नुपर्ने तामाङले बताउनुभयो । तामाङले भन्नु भयो ‘प्राय वृद्धको जिउ चिसोले पुरै सुनिएको छ । दुखत कुरो सामग्री बितरण गर्दागर्दै एक बालिकाको चिसोकै कारण मृत्यु देख्नु परेको थियो ।’ उहाँले थप्नुभयो ‘यस्तो पिडादायिक घट्ना समाचारमा आइराख्दा पनि त्यो गाउँमा कुनै सरकारी प्रतिनिधि, कुनै राजनीतिक दलका नेताकार्यकर्ता र अन्य संघसंस्थाको प्रतिनिधिको उपस्थिती नदेख्दा दुस्ख लाग्यो ।’ महासचिब तामाङ  जिल्लामा रहेका दर्जनौ संघसंस्थाहरु, राजनीतिक संगठन, जातिय संगठनहरुलाई यस्तो बेलामा पिडितहरुकोमा पुग्ने कोशिष गर्नअनुरोध गर्नुहुन्छ । 


भुकम्पकै अहिले पहरी वस्तिमा पानीको मुल पनि सुकेको छ । यहाँका मनिसहरु डेढ घण्टा लगाएर खोलामा पानी लिन झर्नुपर्छ । उनिहरुले खानेपानीको ब्यवस्था गरिदिन माग गरेका छन् । भुकम्पपछि खुलेको मण्डला अर्गनाइजेसन (बिपद सहयोग प्रतिष्ठान नेपाल) ले सिन्धुपाल्चोक, गोर्खा र चितवन जिल्लाहरुमा पिडितहरुलाई राहात तथा सहयोग गर्दै आएको छ । मण्डालाले अपाङ्ग एकल महिला र गरिब परिवारलाई भुकम्पप्रतिरोधात्मक घर र विद्यालयहरु समेत निर्माणमा सक्रिय रहेको महासचिव तामाङले जानकारी दिनुभयो ।